भद्रपुर । 

झापाको भद्रपुर नगरपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको किच्चकबध क्षेत्र नजिक रहेको मातातीर्थ तथा विष्णुपादुका मन्दिरमा साप्ताहिक महायज्ञ आयोजना हुने भएको छ । २०८३ वैशाख ६ देखि १३ गतेसम्म संगीतमय श्रीमद्भागवत महापुराण धन–धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ हुने भएको हो । 

श्री मातातीर्थ तथा बिष्णुपादुका मन्दिर पुराण मूल आयोजक समितिले आज (बुधवार) मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको तयारीका बिषयमा जानकारी दिएको छ । ०८३ साल वैशाख ६ गते विधिवत् उद्घाटन कार्यक्रम गरेसँगै   वैशाख ७ गतेदेखि अक्षय तृतीया पर्वको अवसरदेखि संगीतमय श्रीमद्भागवत महापुराण धन–धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ शुरु गरिने आयोजक समितिका अध्यक्ष हेमप्रसाद खनालले बताए । 

धार्मिक आस्था, संस्कार, सामाजिक एकता र सांस्कृतिक संरक्षणलाई प्रवद्र्धन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ । महायज्ञमा पण्डित श्री पदम पौड्यालको मुखारबिन्दबाट श्रीमद्भागवतको मूलपाठ पारायण गरिनेछ भने पण्डित श्री उदय खनाल शास्त्रीद्वारा भागवत कथा वाचन तथा आध्यात्मिक प्रवचन प्रस्तुत गरिने कार्यक्रम तयारी गरिएको आयोजकले जनाएको छ । साथै कार्यक्रम अवधिभर विविध धार्मिक झाँकीहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । 

२०६८ सालमा स्व. देवबहादुर अधिकारीले मन्दिरका लागि उपलब्ध गराएको २ कठ्ठा जग्गामा स्थापना भएको मन्दिरमा आयोजना हुन लागेको महायज्ञमा १० देखि १२ लाख खर्च हुने र २० देखि २५ लाख संकलन हुने आयोजकको अनुमान छ ।   

महायज्ञमा देश–विदेशबाट आउने श्रद्धालु भक्तजन, धर्मप्रेमी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । साथै, सम्पूर्ण भक्तजनहरूलाई उपस्थित भई कथा श्रवण, झाँकी अवलोकन तथा तन, मन, वचन र धनले सेवा गरी अधुरो भवन निर्माणर्थ तथा अक्षयकोष स्थापनार्थ गरी संरक्षण र प्रवद्र्धनमा सहयोग पुर्याउने  आयोजकले आग्रह गरेको छ । 

यस महायज्ञले किच्चकवध क्षेत्रको ऐतिहासिक पहिचानलाई थप उजागर गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने  विश्वास आयोजकले लिएको छ ।

सहजीकरण पत्रकार उत्तम नेपालले गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश मन्दिरकी उपाध्यक्ष तारादेवी सुवेदीले गरेकी थिइन् । कार्यक्रममा उदय खनाल शास्त्री,  पृथ्बीनगर माविका प्रधानाध्यापक डम्बर खनाललगायतले आ–आफ्नो भनाई राखेका थिए । 

किच्चकबध क्षेत्र प्राचीन कालदेखि नै धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको स्थलका रूपमा परिचित रहँदै आएको छ । महाभारतकालीन कथन अनुसार अज्ञातवासका क्रममा पाण्डवहरू विराटनगर क्षेत्रमा बसोबास गरिरहेका बेला भीमले द्रौपदीमाथि दुव्र्यवहार गर्ने किच्चक नामक पात्रको वध गरेको स्थानलाई नै किच्चकबधका रूपमा चिनिने गरिन्छ । यस घटनाले अन्यायविरुद्ध न्यायको जितको सन्देश दिने भएकाले यस क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रका रूपमा समेत लिने गरिन्छ । समयसँगै यो क्षेत्र धार्मिक पर्यटकीय सम्भावना बोकेको स्थलका रूपमा विकास हुँदै गएको स्थानीयको भनाई छ ।