झापा। 

लगातारको हावाहुरीले गएरातिसम्ममा झापामा लाखौंको क्षति पुर्‍याएको छ । वर्षासँगै आएको हावाहुरीले मेचीनगर–१० आम्दा रोडका सुरज चौधरीले सञ्चालन गरेको दुर्गा कुचो खरिद तथा बिक्री केन्द्रमा कुचो राखिएको गोदामको छाना उडाएको छ । जस्तापाता उडाई गोदामभित्र पानी पसेर कुचो भिज्दा अन्दाजी ३० लाख मूल्य बराबरको क्षति भएको छ ।

त्यस्तै वर्षासँगै आएको हावाहुरीले मेचीनगर–१० लालपानीका श्याम न्यौपानेले सञ्चालन गरेको सिद्धिविनायक प्लाई भेनियर इण्डष्ट्रिजको कम्पाउण्डमा सुकाई राखेको भेनियर उडाएको छ । अन्दाजी २० हजार वर्गमिटर भेनियर हावाहुरीले उडाएर क्षति गरेको हो । जस्ता पाताको कम्पाउण्ड वाल भएको गोदामको छानोसमेत उडाएर क्षति पुगेको छ । क्षतिको मूल्यांकन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 हावाहुरीले हल्दीवारीमा पाँचवटा घरको छाना उडाउँदा ५ लाख ७० हजार बराबरको क्षति भएको छ । हल्दिबारी–१ गोलधाप रामजानकी टोलका ५० बर्षीय यामबहादुर भुजेलको टिनको छानो, बाँसको बेरा भएको भुइँघर पूर्णरुपले लडाएको छ भने राजकुमार सुहाङ लिम्बूको टिन छानो, बाँसको बेरा भएको भुइँघर पूर्णरुपले क्षतिग्रस्त भएको छ । त्यस्तै गरमकाली आधारभूत विद्यालयको २ तले पक्की भवनको टिनको छानो उडाई क्षति गरेको छ । सोही ठाउँ बस्ने जीवन राईको बाँसको बेराले बनेको टिनको छानो भएको भुइँघर पूर्णरुपले भत्किएको छ भने कमलाकुमारी लिङ्देनको टिनको छानो, बाँसको बेरा भएको भुइँघर पनि हावाहुरीले पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

 हावाहुरीकै कारण गौरादहमा–६ वटा घरमा क्षति पुगेको छ । जसबाट ६ लाख ७६ हजार बराबरको क्षति भएको छ । गौरादह ४ चान्दु टोल बस्ने बर्ष ५३ का ऐरबहादुर त्रिखत्रीको टिनको छानो ,बाँसको टाँटी बेरा भएको एकतले घर र भान्सा कोठा भत्किएको छ भने वडा नं. ५ जत्रुचौनका ४० बर्षीय चन्द्रमणि खनालको टिनको छानो, पक्की वाल भएको एकतले घरको छानो उडाई घरभित्र रहेका अन्नपातसमेत क्षति भएको छ ।

 सोही ठाउँ बस्ने बर्ष ३२ की पार्वता खनालको टिनको छाना, पक्की वाल भएको २ तले घरको छानो उडाई अन्नपातसमेत नष्ट भएको छ । त्यस्तै बिना परियारले बंगुरपालनको लागि बनाएको टिनको छानो काठले बनेको खोरको छानो उडाएको छ भने बालुबथानका ३९ बर्षीय दिलकुमार चेम्जोङको एकतले पक्की घरको ट्रसको छानो उडाएको छ ।

त्यस्तै भद्रपुरमा चारवटा घरको छाना उडाउँदा १ लाख ३० हजार बराबरको क्षति भएको छ । भद्रपुर–३ सन्थाल टोलका  बुधय मुर्मुको टिनको छानो र टिनको बेरा भएको एकतले भुइँघर उडाएको छ भने २० वटा कुखुराको चल्ला मरेका छन् । कमल गणेशको टिनको छानोबेरा भएको एकतले भुइँघर पूर्णरुपमा क्षतिग्रस्त भएको, दुखिया महत्तोको टिनको छानो र बेरा भएको एकतले भान्सा घर पूर्णरुपमा भत्किएको र मिस्ती राजवंशीको टिनको छानो र बेरा भएको एकतले भुइँघरमा पूर्णरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।