झापा ।
खाडी मुलुकमा कार्यरत काउन्सेलर श्रम तथा श्रम सहचारीहरूले अझै केही समय श्रम स्वीकृति सुचारु नगर्न नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई सुझाव दिएका छन् । सोमबार श्रममन्त्री साहले भर्चुअल माध्यमबाट खाडीका विभिन्न मुलुकहरूको अवस्थाबारे जानकारी लिएका थिए । सोहीक्रममा काउन्सेलर श्रम तथा श्रम सहचारीहरूले हाल पनि जोखिमकै स्थिति रहेको भन्दै नयाँ श्रम स्वीकृति जारी गर्न नहुने सुझाव दिएका हुन् ।
अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि इरानले ठुलो संख्यामा नेपाली कार्यरत खाडीका १२ मुलुकमा चैत ३ गतेदेखि नयाँ श्रम स्वीकृति दिन रोक लगाएको छ । हालसम्म एक नेपालीको मृत्यु हुनुका साथै करिब दुई दर्जन घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै सम्बन्धित देशमा श्रमिकहरूलाई आवासीय सुविधा उपलब्ध भए–नभएको, भएको भए सोको अवस्था, स्वास्थ्य परीक्षणको व्यवस्था, कार्यस्थलको सुरक्षालगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी वैदेशिक रोजगार बोर्डबाट सेफ हाउस तथा सेल्टरको सञ्चालनका लागि निकासा भएको रकम नियमित रूपमा खर्च गर्ने, समयमा सम्बन्धित निकायमा प्रतिवेदन गर्ने, दूतावास तथा श्रम काउन्सेलर र श्रम सहचारीहरूमार्फत गन्तव्य मुलुकहरूमा आवश्यक सूचना प्रवाह गर्ने, प्राप्त गुनासो तथा सूचनाहरूको यथासक्य छिटो फछ्र्यौटका लागि पहल गर्ने तथा दूतावासहरूमा सञ्चालनमा रहेका सेफ हाउस र सेल्टरको मापदण्डको मस्यौदा तयार गर्नेबारे निर्णय भएको पनि मन्त्रालयले बताएको छ ।
श्रम स्वीकृति रोकिँदा दैनिक करिब दुई हजार नयाँ नेपाली वैदेशिक रोजगारीमा जानबाट वञ्चित भएका छन् । खाडी मुलुकमा शान्ति कहिले र कसरी स्थापना हुनेछ भन्ने अनिश्चित देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इरानको तेल नियन्त्रण’ गर्न चाहेको र खार्ग टापु पनि नियन्त्रणमा लिन सक्ने बताएका छन् । ट्रम्पले फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा उक्त खुलासा गरेका हुन् । हजारौं अमेरिकी सेना सम्भावित जमिन आक्रमणको तयारीका लागि मध्यपूर्वमा आइपुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग ‘धेरै चाँडै’ सम्झौता हुन सक्ने बताएका छन् । तर, इरानले अमेरिकी सेनामाथि आक्रमण गर्न आफू पर्खिरहेको बताएको छ । परस्पर विरोधी भनाइका कारण युद्ध लामो समय जान सक्ने भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन् ।


















