मेचीनगर । 

समाजमा कसैको देवसनपछि किरियापुत्रीलाई साथ दिन रात समयमा पुग्ने र जुवातास खेल्ने गतिविधिलाई झापाको मेचीनगर–१४ मा निषेध गरिएको छ । 

बड्दै गरेको बिकृति बिसंगतिलाई न्यूनीकरण र भ्रष्टाचाररहित समाज निर्माणको सारथी बन्दै आएको युवा अभियान नेपालले मदिरा सेवन र जुवातास खेल्न निषेध गरेको हो । परिवारका सदस्यको बियोगपछि शोकमा  रहेका आफन्तकहाँ मदिरा पिएर आउने र जुवातास खेल्ने प्रचलनले नयाँ पुस्तालाई असर पर्ने निष्कर्ष निकाल्दै उक्त निर्णय गरेको हो ।

शोकमा रहेको घरमा पुगेर जुवातास खेल्ने र सहकर्मीबीच आपसी विवादपछि झगडा हुने आपसी सद्भावमा खलल पुग्ने भन्दै निर्णय गरेको युवा अभियान नेपालका संयोजक पशुपति भट्टराई (प्रबिण) ले बताए ।

मेचीनगर–१४ प्रगति टोल बिकास समितिका अध्यक्ष तुलसीप्रसाद लामिछाने आमाको शोकको नवौं दिनमा भएको विवाद भएपछि त्यस्ता विवादका घटना दोहोरिन नदिन युवा अभियान नेपालले उक्त निर्णय गर्न बाध्य भएको हो ।

शोक घरपरिवारमा आइतबार राति भएको विवाद घटनालाई लिएर बसेको छलफलले संलग्न तीन जनाले आगामी दिनमा गल्ती नदोहोर्‍याउने भन्दै सार्वजनिक रुपमा माफी माग्ने निर्णय समेत गरेको छ ।

 छलफलपछि घटनामा संलग्न तिनै जना युवाले शोकाकुल  परिवारजनसमक्ष सार्वजनिक रुपमा माफी मागेका छन् । लागुऔषध दुर्ब्यशनीकै कारण चोरी–लुटपाटका घटना बढ्दै समाज त्रासित बनेपछि अभियान नेपालले नियन्त्रणका उपायसहित अभियान गर्दै आएको छ । भ्रष्टाचाररहित समाजसहित कानूनी प्रक्रिया पूरा गरेर मात्रै उद्योग कलकारखाना तथा होटल सञ्चालन गर्नसमेत खवरदारी गर्दै आएको छ ।

साथै लागुऔषध प्रयोग तथा ओसारपसारका अखडास्थलमा सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराउँदै आएको छ भने नयाँ युवामैत्री कार्यक्रमका लागि सहजीकरण गर्दै आएको छ ।