बिर्तामोड ।
बिर्तामोड नगरपालिका वडा नम्बर १ मा बालक्लबका पदाधिकारीहरुलाई प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । आदर्श बालक्लबका २९ जना बालबालिकाहरुको लागि आयोजित २ दिने तालिम सम्पन्न भएको हो । योसँगै सामाजिक सञ्जालको प्रयोग, लागुपदार्थ दुर्व्यसनी, व्यक्तिगत घटना दर्ता लगायतका विषयमा तालिम प्रदान गरिएको वडासचिब जानुका बस्नेतले जानकारी दिइन् ।
तालिममा चेतना नेपालका सञ्चालक ईन्द्रप्रसाद ओली र प्रेमकुमार सेडाईले प्रशिक्षण प्रदान गरेका थिए । समापन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड १ का वडाध्यक्ष तथा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले देशको नेतृत्वमा पुग्ने बालबालिकाहरुलाई यस प्रकारको ज्ञान आवश्यक भएकोले तालिमको आयोजना गरिएको बताए। आगामी वर्षको बजेटमा पनि योजना बनाएर बालबालिकाहरुको लागि तालिम प्रदान गरिने उहाँले जानकारी दिए। यसका लागि योजना तर्जुमा गर्दा बालबालिकाहरुलाई सहभागि गराउने वडाअध्यक्ष पाण्डेको प्रतिवद्दता छ ।
कार्यक्रममा बोल्दै तालिममा सहभागी सुलभ कार्की र तपस्या प्रसाईले तालिम प्रभावकारी भएको र यसलाई व्यवहारमा लागु गर्ने धारणा राखे । तालिममा सहभागिहरुको क्रियाशिलताको आधारमा ४ जनालाई पुरस्कृतसमेत गरिएको छ । जसमा तपस्या तामन प्रसाई प्रथम, आर्या पाण्डे दोश्रो,सायुमा लिम्बु तेश्रो र जोशना कार्की सान्तवना हुनु भएको छ ।
आदर्श बालक्लबका अध्यक्ष न्युसन थापाको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य यामुना आचार्य,पूर्ववडासदस्य प्रेमप्रसाद खरेल लगायतको उपस्थिति रहेको थियो ।


















