नेपालको पूर्वी पहाडी भूभागमा अवस्थित साल्पा पोखरी केवल एक प्राकृतिक ताल मात्र होइन, यो किराँत समुदायको गहिरो आस्था, इतिहास र सांस्कृतिक जीवनसँग जोडिएको पवित्र स्थल हो। भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिकामा, समुद्र सतहबाट करिब ३ हजार ४४३ मिटर उचाइमा अवस्थित यो पोखरी शान्त वातावरण, हिमाली दृश्यावलोकन र जैविक विविधताका लागि विशेष रूपमा परिचित छ। मुन्दुम पदमार्गमा पर्ने भएकाले यस क्षेत्र धार्मिक तथा पर्यटकीय दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ।
साल्पा पोखरी वरिपरि बसोबास गर्ने राई, शेर्पा र तमाङ समुदायको जीवनशैली, संस्कृति र विश्वास यस क्षेत्रसँग गहिरो रूपमा गाँसिएको छ। उनीहरूको मुन्दुम जो किराँत धर्मको मौखिक वेद जस्तै हो। प्रकृति, देवता, मानव र ब्रह्माण्डबीचको सम्बन्धलाई व्याख्या गर्छ। मुन्दुमअनुसार, सुम्निमा र पारुहाङ सृष्टिका आदि माता(पिता मानिन्छन्। साल्पा क्षेत्रलाई तिनै पुर्खाहरूको उद्गमस्थलको रूपमा लिइन्छ, जसले यस पोखरीलाई अझै पवित्र बनाएको छ।
यस क्षेत्रका डाँडाकाँडा, जस्तै सुनापति, भैरुम्पाती तोलिन्दो चाप, गुसार र सिलिचुङ मुनीको भूगोल, केवल भौगोलिक संरचना मात्र नभई धार्मिक प्रतीकहरू पनि हुन्। यहाँका प्रत्येक स्थानसँग गुम्बा,बौध र कुनै न कुनै किम्बदन्ती र धार्मिक कथा जोडिएका छन्। विशेष गरी, सिलिचुङ शिखरबाट देखिने हिमशृङ्खलाले मनलाई आनन्दित बनाउँछ भने साल्पा पोखरीको शान्त जलले आत्मालाई शुद्ध बनाउने विश्वास गरिन्छ।
साल्पा पोखरीको उत्पत्तिबारे विभिन्न किम्बदन्तीहरू प्रचलित छन्। जनविश्वास अनुसार, देवदेवताहरूको तपस्या र शक्ति संगमबाट यो पोखरी उत्पन्न भएको हो। यहाँ पूजा गर्दा सन्तान प्राप्ति हुने, रोग निको हुने र पाप पखालिने विश्वास गरिन्छ। यही कारणले धामी, झाँक्री र बिजुवाहरू विशेष पूजा गर्न यहाँ पुग्ने गर्छन्।
हरेक वर्ष बैशाख पूर्णिमा, भदौ ९ऋषि० पूर्णिमा, कार्तिक र मंसिर पूर्णिमामा यहाँ ठूलो मेला लाग्छ। टाढाटाढाबाट श्रद्धालुहरू पूजा गर्न आउँछन्। मेलामा धामी(झाँक्रीहरूले “सोइढोले सोइ” भन्दै बाजागाजा र मन्त्रसहित नाच्ने दृश्य अत्यन्त रोमाञ्चक हुन्छ। उनीहरूको नृत्य केवल मनोरञ्जन होइन, यो आध्यात्मिक ऊर्जा र देवतासँगको संवादको माध्यम हो।
साल्पा पोखरी वरिपरि पाइने सुनाखरी,तोलिन्दो, पाखनबेद जस्ता जडीबुटीहरूले यस क्षेत्रलाई प्राकृतिक रूपमा पनि समृद्ध बनाएका छन्। घना जंगल, चिसो हावा र निर्मल वातावरणले यहाँ आउने जो कोहीलाई मानसिक शान्ति प्रदान गर्छ। यात्रा मार्गमा पर्ने बाटोघाटो, पुल, कुलेसोहरू पार गर्दै यहाँ पुग्दा प्रकृतिसँगको निकटता महसुस गर्न सकिन्छ।
अन्ततः, साल्पा पोखरी केवल एक पर्यटकीय गन्तव्य मात्र नभई किरात सभ्यता, धार्मिक आस्था, सांस्कृतिक पहिचान र अनुपम प्राकृतिक सौन्दर्यको समन्वित प्रतीक हो। यहाँको यात्रा शरीरका लागि मात्र नभई आत्माका लागि पनि शुद्धिकरण, शान्ति र ऊर्जा प्राप्त गर्ने एक पवित्र अवसरका रूपमा स्थापित भएको छ। त्यसैले, साल्पा पोखरीको भ्रमण केवल यात्रा नभई अनुभूति, साधना र आत्म अन्वेषणको एक समग्र प्रक्रिया हो।
विमल गिरी
बिर्तामोड २ चारपाने, झापा, हाल बेल्जियम ।

















