बिर्तामोड ।
आजको समयमा केवल शैक्षिक प्रमाणपत्रले मात्र जीवन सहज नबन्ने यथार्थलाई आत्मसात गर्दै महिलाहरुलाई व्यावहारिक सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यका साथ झापाको बिर्तामोड–२ स्थित चारपानेमा ज्योति ब्युटी सलुन एण्ड एकेडेमीले पूर्ण रुपमा निःशुल्क ‘नेल आर्ट तालिम’ सञ्चालन गर्ने भएको छ।
आगामी २०८३ साल जेठ ८ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त ७ दिने तालिम संस्थाको आफ्नै सुविधा सम्पन्न तालिम हलमा आयोजना गरिनेछ। तालिममा सीमित विद्यार्थी मात्र सहभागी गराइने भएकाले इच्छुक महिलाहरुलाई समयमै सम्पर्क गरि नाम दर्ता गराउन आग्रह गरिएको छ।
सामान्य व्यवसायिक सोचभन्दा माथि उठेर समाजप्रति उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो तालिम महिलाको सीप तथा क्षमता विकासमा केन्द्रित रहने संस्थाले जनाएको छ। विशेषगरी सौदर्य शिक्षामा रुचि भएका र अवसरको खोजीमा रहेका तथा आफ्नै पहिचान निर्माण गर्न चाहने महिलाहरुलाई लक्षित गर्दै कार्यक्रम ल्याइएको हो।
तालिममा सहभागीहरुले आधुनिक नेल आर्ट सम्बन्धी व्यावहारिक सीप मात्र नभई जीवनमा सीपको महत्व, आत्मनिर्भर बन्न सकिने सम्भावना, स्वरोजगार सिर्जना तथा वैदेशिक रोजगारीमा दक्ष जनशक्तिको महत्व जस्ता विषयमा समेत जानकारी प्राप्त गर्नेछन्।
संस्थापक ज्योति पराजुलीका अनुसार अहिलेको पुस्तामा डिग्री भन्दा पनि सीपले भविष्य निर्माण गर्ने अवस्था बढ्दो छ। ‘धेरै महिलाहरु अवसरको अभावमा आफ्ना सपना दबाएर बस्न बाध्य छन्। यदि सही वातावरण, राम्रो सिकाइ र आत्मविश्वास दिन सकियो भने महिलाहरु आफैं सफल बन्न सक्छन् भन्ने विश्वासले हामीले यो कार्यक्रम ल्याएका हौं’ उनले बताइन् ।
वर्षौंको अनुभव हासिल गरेका दक्ष तथा अनुभवी ब्युटिसियनहरुद्वारा प्रशिक्षण दिइने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ। व्यवहारिक सिकाइलाई प्राथमिकता दिइने भएकाले तालिमपछि सहभागीहरुले आफूले सिकेको सीपलाई प्रत्यक्ष रुपमा आयआर्जनसँग जोड्न सक्ने विश्वास गरिएको छ।
लामो समयदेखि गुणस्तरीय ब्युटी सेवा र प्रभावकारी तालिम प्रदान गर्दै आएको ज्योति ब्युटी सलुन एण्ड एकेडेमी आज झापा क्षेत्रमा विश्वासिलो प्रशिक्षण केन्द्रका रुपमा परिचित बन्दै गएको छ। यहाँको सिकाइ शैली, विद्यार्थीमैत्री वातावरण र व्यवहारिक प्रशिक्षणका कारण धेरै महिलाहरु स्वरोजगार तथा व्यवसायिक यात्रामा अघि बढ्न सफल भएका छन्।
‘सुन्दरता केवल बाहिरी आकर्षण होइन, आत्मविश्वास र आत्मनिर्भरता पनि हो’ भन्ने सोचसहित अघि बढिरहेको ज्योति ब्युटी सलुन एण्ड एकेडेमीको यो पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।


















