हल्दीबारी । 

विश्व रक्तदाता दिवसको अवसर पारेर हल्दीबारी जेसीजले बिर्तामोडस्थित तारा नमस्ते बालग्राममा रहेका बालबालिकाहरूका लागि निःशुल्क रक्त परीक्षण तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ।

मञ्जु मेमोरियल हेल्थ सेन्टरको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा बालग्राममा आश्रित ३२ जना बालबालिकाको निःशुल्क रक्त परीक्षण गरिएको थियो भने उनीहरूका लागि आवश्यक खाद्यान्न सामग्री समेत वितरण गरिएको थियो। रक्त परीक्षण डा. सुरज शर्माले गरेका थिए । 

हल्दीबारी जेसीजका अध्यक्ष जेसी नितेश खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारा नमस्ते बालग्रामकी कार्यकारी प्रमुख यशोदा पोखरेल, हल्दीबारी जेसीजकी प्रमुख सल्लाहकार जेसी हिमा मिश्र पौडेल, डा. सुरज शर्मा लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव जेसी अनिल चौहानले गरेका थिए । 

कार्यक्रममा कानुनी सल्लाहकार जेसी योगेश कार्की, कार्यकारी उपाध्यक्ष मिलन बिके, उपाध्यक्ष बीपी कोइराला, कोषाध्यक्ष भीम भट्टराई, सदस्य पवन गिरी लगायतका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। साथै बालग्रामका ३२ जना बालबालिका र ५ जना कर्मचारीको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बालग्रामकी कार्यकारी प्रमुख यशोदा पोखरेलले हल्दीबारी जेसीजले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यो कार्य अत्यन्तै पुण्य र उदाहरणीय रहेको बताए। उनले अभिभावकविहीन बालबालिकाप्रति देखाइएको माया, सद्भाव र सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे । 

त्यसैगरी प्रमुख सल्लाहकार जेसी हिमा मिश्र पौडेलले हल्दीबारी जेसीजले सधैं सामाजिक सेवामूलक तथा मानवीय कार्यलाई प्राथमिकतामा राख्दै आएको बताइन् । उनले हल्दीबारी–२ मा विपन्न परिवारका लागि घर निर्माणजस्ता कार्यहरू समेत संस्थाले निरन्तर गर्दै आएको स्मरण गराइन् । संस्थापक अध्यक्ष जेसी युनिता दवाडीले हल्दीबारी जेसीजलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको पनि उनले बताइन् । 

डा. सुरज शर्माले विश्व रक्तदाता दिवसकै अवसरमा आयोजित कार्यक्रमलाई निकै सान्दर्भिक र प्रेरणादायी भएको बताए । ‘समाजका धेरैको नजर नपुगेका यी निर्दोष बालबालिकाप्रति हल्दीबारी जेसीजले अपनत्व देखाएको छ, यो वास्तवमै प्रशंसनीय कार्य हो’ उनले भने । साथै उनले रक्त परीक्षण तथा रक्तदानको महत्वबारे जानकारीमूलक मन्तव्य समेत व्यक्त गरे । 

कार्यक्रमको समापन गर्दै अध्यक्ष जेसी नितेश खरेलले नेपाल जेसीजले विश्व रक्तदाता दिवसका अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरिरहेको सन्दर्भ उल्लेख गर्दै हल्दीबारी जेसीजले भने अभिभावकविहीन बालबालिकालाई लक्षित गरी फरक र सन्देशमूलक कार्यक्रम आयोजना गरेको बताए। ‘यी बालबालिकाको कोही छैन भन्ने होइन, हल्दीबारी जेसीज उनीहरूको साथमा छ भन्ने सन्देश दिन हामी यहाँ आएका हौं,’ उनले भने ।  आगामी दिनमा पनि यस्ता नवीन, मानवीय र समाज रूपान्तरणमा टेवा पुर्‍याउने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । 

सामाजिक सेवा, मानवीय भावना र अपनत्वको उत्कृष्ट उदाहरण बनेको उक्त कार्यक्रमले विश्व रक्तदाता दिवसलाई अझ अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।