बिर्तामोड ।
झापाको बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा स्थानीय प्रतिष्ठित व्यवसायी धनेन्द्रकुमार पाण्डेले पुनः २१ हजार रुपैयाँ सहयोग गरेका छन्। पाण्डेले उक्त कोषमा गरेको यो तेस्रो योगदान हो। यसअघि पनि उनले दुई पटक २१÷२१ हजार रुपैयाँ सहयोग गरिसकेका छन्। पछिल्लो सहयोगसँगै पाण्डेबाट कोषमा जम्मा भएको कुल रकम ६३ हजार रुपैयाँ पुगेको छ।
व्यवसायी सदस्यहरूलाई विभिन्न विपद्, दुर्घटना, स्वास्थ्य समस्या तथा अन्य आकस्मिक परिस्थितिमा राहत उपलब्ध गराउने उद्देश्यले संघले एक करोड रुपैयाँ बराबरको ‘व्यवसायी सदस्य राहत कोष’ स्थापना गर्ने अभियान सञ्चालन गरिरहेको छ। संघका अध्यक्ष राजु न्यौपाने नेतृत्वको कार्यसमितिले उक्त लक्ष्य हासिल गर्न आवश्यक पहल गरिरहेको जनाएको छ।
अभियानलाई प्रभावकारी बनाउन संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले संघका सदस्य, व्यवसायी तथा शुभेच्छुकहरूबाट सहयोग रकम संकलन गर्ने कार्यलाई निरन्तरता दिएको छ। संघका अनुसार हालसम्म राहत कोषमा करिब ३० लाख रुपैयाँ संकलन भइसकेको छ। कोषलाई लक्षित रकमसम्म पुर्याउन विभिन्न सामाजिक तथा पारिवारिक अवसरलाई समेत सहयोग अभियानसँग जोड्ने अभ्यास बढ्दै गएको छ।
पछिल्लो समय जन्मदिन, वैवाहिक वर्षगाँठ, पितृ स्मरण तथा व्यवसाय स्थापना दिवसजस्ता विशेष अवसरमा राहत कोषमा रकम प्रदान गर्ने व्यवसायीहरूको संख्या बढ्दो छ। यसले व्यवसायिक समुदायमा सामाजिक उत्तरदायित्व र पारस्परिक सहयोगको भावना बलियो बन्दै गएको देखिएको संघले जनाएको छ।
संघका महासचिव कुशल खतिवडाका अनुसार राहत कोषमा योगदान गर्ने दाताहरूलाई संघले कदरपत्र प्रदान गरी सम्मान गर्दै आएको छ। व्यवसायीहरूबीच सहकार्य र सहयोगको संस्कार विकास गर्ने उद्देश्यले योगदानकर्तालाई सम्मान गर्ने परम्परा सुरु गरिएको उनले बताए।
स्थानीय व्यवसायीहरूको सक्रिय सहभागितामा सञ्चालन भइरहेको राहत कोषले भविष्यमा संकटमा परेका संघका सदस्य व्यवसायी तथा उनीहरूका परिवारलाई तत्काल राहत उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। व्यवसायिक समुदायको साझा पहलका रूपमा अघि बढेको यस अभियानमा सहयोग गर्नेहरूको संख्या क्रमशः बढ्दै गएको संघले जनाएको छ।


















