- भरत प्रसाई
बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण परिष्कृत र व्यावहारिक बनाउने उद्देश्यका साथ विभिन्न विधाका विज्ञहरूसँग राय संकलन तीव्र पारेको छ। यसै क्रममा नगरपालिकाको सभाहलमा पत्रकारहरूसँग एक ुराजस्व परामर्श तथा सुझाव संकलन कार्यक्रमु को आयोजना गरियो, जहाँ स्थानीय मिडियाका सञ्चालक, सम्पादक तथा पत्रकारहरूले नगरको विकास र सुधारका लागि महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरे।
नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकारहरूले लोक कल्याणकारी विज्ञापनको समान वितरण, मिडिया वर्गीकरण, पर्यटन प्रवर्द्धन र भौतिक पूर्वाधार निर्माणका विषयमा केन्द्रित रहेर आफ्ना धारणाहरू राखेका थिए।कार्यक्रममा बोल्दै मोफसल अनलाइनका सम्पादक भरत प्रसाईंले लोक कल्याणकारी विज्ञापनमार्फत बिर्तामोड भित्रका सूचीकृत सबै मिडियालाई समान रूपमा विज्ञापन दिनु न्यायसंगत हुने बताए।
शब्दपत्र डटकमका सम्पादक तथा प्रकाशक उद्धव पुरीले पारदर्शिता कायम गर्न जिल्ला भरिका मिडियालाई समेट्नुपर्ने सुझाव दिए । पुरीले आफ्नो पालिका भित्र रहेका मिडियोहरुलाई प्राथमिकतामा राखेर अन्य पालिका अर्थात जिल्लाभरीका मिडियाहरुलाई पनि कामको आधारमा समेट्नु पर्ने सुझाव दिए । यस्तै पत्रकार लीला अनमोलले विज्ञापन व्यवस्थापनका लागि बृहत् छलफल गरी निचोड निकाल्नुपर्नेमा जोड दिइन्।
त्यसैगरी, पत्रकारहरू रेजिना गौतम र सरोज भट्टराईले कामको आधारमा मिडियाको वर्गीकरण गरी कार्य सम्पादनलाई उत्कृष्ट बनाउनुपर्ने धारणा राखे। पर्यटन पत्रकार मञ्चका अध्यक्ष विनोद पाण्डेले पनि कामको आधारमा लोककल्याणकारी विज्ञापन प्रदान गर्न आग्रह गरे। पत्रकार तिलक योन्जनले बिर्तामोड कार्यस्थल भएका मिडियालाई प्राथमिकता दिनुपर्ने र पत्रकारहरूको क्षमता विकासका लागि सीपमूलक तालिमको व्यवस्था गर्न माग गर्दै वर्षमा कम्तीमा दुई पटक पत्रकारहरूसँग नगरले छलफल गर्नुपर्ने सुझाव दिए।
बिर्तामोडको मुख्य समस्यालाई औंल्याउँदै पत्रकारहरू देवेन्द्र प्रसाई, अनुषा चुडाल र लिला सेलवालले बिर्तामोडमा तत्काल कम्तीमा दुईवटा सार्वजनिक शौचालय निर्माणलाई प्राथमिकतामा राख्न जोडदार माग गरे। देवेन्द्र प्रसाईले रेडियोको विज्ञापन दरमा वृद्धि गर्नुपर्ने र जनप्रतिनिधिहरूले आफ्नो कार्यकालको अन्तिम समयमा केही ऐतिहासिक काम गरेर बिदा हुनुपर्ने सुझाव समेत दिए।
पर्यटन पत्रकार मञ्चका अध्यक्ष विनोद पाण्डेले आन्तरिक कर संकलनलाई प्रभावकारी बनाउन नगर प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्न र सामाजिक संघसंस्थाहरूको प्रभावकारी सञ्चालनका लागि एकीकृत कार्ययोजना ल्याउन सुझाए। त्यस्तै, कान्तिपुर टेलिभिजनका पत्रकार गणेश मुखियाले नीति, नियम र प्रक्रिया पुर्याएर काम गरे बेरुजुको मात्रा न्यून गर्न सकिने औंल्याए।
पत्रकार रेजिना गौतमले बिर्तामोडको पहिचान झल्कने वस्तुहरूको पहिचान गरी पर्यटन प्रवर्द्धन गर्न, मुक्तिचोकको सालिक पुनः व्यवस्थापन गर्न र रक्तदानका लागि सार्वजनिक स्थल तोक्न माग गरिन्। प्रशासनिक सुधारतर्फ संकेत गर्दै पत्रकार प्रदिप परियारले स्थानीय कर्मचारीहरूले सेवाग्राहीसँग गर्ने व्यवहारमा सुधार ल्याउनुपर्ने सुझाव दिए। साथै, उनले पत्रकार र मिडिया प्रवर्द्धनका लागि बिर्तामोड नगरपालिकाले गरेजति काम अन्य पालिकाले नगरेको भन्दै प्रशंसा समेत गरे।
पत्रकारहरूको सुझाव सुनेपछि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले संकलित रायहरूलाई कार्यपालिकाको बैठकमा पेश गरी कार्यनिर्देशिका नै बनाएर कार्यान्वयन प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए। बजेटको सीमाबारे प्रष्ट पार्दै उपप्रमुख संग्रौलाले भने ‘संघीय सरकारबाट हामीले अपेक्षा गरेअनुरूपको बजेट प्राप्त गर्न सकेका छैनौं। जसका कारण निर्माणाधीन सडक, बाटो, पुल लगायतका विकास निर्माणका कार्यहरूलाई तीव्र गतिमा अगाडि बढाउन कठिन भएको छ। करिब ७० प्रतिशत योजनाहरू आगामी आर्थिक वर्षमा सार्नुपर्ने बाध्यात्मक अवस्था आएकाले सोचेअनुरूप काम सम्पन्न हुन नसक्ने देखिएको छ।’
बेरुजुको विषयमा बोल्दै उनले बेरुजु हुनु भनेकै भ्रष्टाचार हुनु हो भन्ने नकारात्मक मानसिकताबाट बाहिर निस्कन सबैलाई आग्रह गरे । विभिन्न प्राविधिक कारण र प्रक्रियागत जटिलताले गर्दा नगरपालिका तथा उपमहानगरपालिकाहरूमा बेरुजु देखिने गरेको उनको स्पष्टीकरण थियो।
कार्यक्रमको अन्त्यमा उपप्रमुख संग्रौलाले बिर्तामोडको विकासका लागि रचनात्मक सहयोग पुर्याएको तथा नगरपालिकाका कमीकमजोरी औंल्याउँदै राम्रा कामहरूको सकारात्मक प्रचारप्रसार गरिदिएकोमा सम्पूर्ण सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।


















