शनिश्चरे ।
झापाको अर्जुनधारास्थित शनिश्चरे बजारमा आयोजना भएको ‘रोजगार मेला’ बाट एक सय २१ जनाले रोजगारी पाउने भएका छन् । अर्जुनधारा उद्योग वाणिज्य संघको आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा गत असार ३ देखि ५ गतेसम्म मेला आयोजना गरिएको थियो ।
रोजगार मेलाबाट वेटर ४ जना, कुक १० जना, हाउसमेन २० जना, सेक्युरिटी गार्ड १३ जना, पसलहरुमा २५ जना, केयरगिभर ६ जना, शिक्षक ५ जना, लोडअनलोडमा १० जना र ड्राइभर लाइसेन्स प्राप्त १० जनाले रोजगार पाउने भएका अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्काले जानकारी दिए ।
रोजगार मेलामा २५० जना ब्यूटीसियन, ३०० जना इलेक्टिसियन, कम्युटर सम्बन्धी १२५ जना, वेटर, सेल्स, शिक्षक, लेखा, हाउस किपिङ, बारिस्ता, मन्टेश्वरी, सेक्युरिटी र सहयोगी गरेर १५० जना र बेकरीमा १५० जनाले परामर्श तथा तालिम लिएको अध्यक्ष खड्काले जानकारी दिए ।
करिब १८० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने लक्ष्य राखेर आयोजना गरिएको रोजगार मेलाबाट १२१ जनाले रोजगारी पाएको र नगरले रोजगार सम्बन्धी हेर्ने एक जना कर्मचारी दिए प्रत्येक बर्ष थप १०० जनालाई रोजगारी दिने संघका अध्यक्ष खड्काको भनाई छ ।
अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले मेलाले वेरोजगार समस्या न्यूनिकरणमा सहज भएको बताए । उनले रोजगार मेला केही बर्ष अगाडिदेखि लाउनु पर्ने बताउँदै ढिलै भएपनि यस बर्षदेखि शुरु गरिएको र आगामी दिनमा यस प्रकारका मेला तथा महोत्सवलाई निरन्तरता दिने बताएका छन् ।
दक्ष श्रमिकको अभाव र बेरोजगारीको समस्या समाधानका लागि रोजगार मेला प्रभावकारी भएको उनले बताए । उनले रोजगार मेलाले सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै नागरिकलाई रोजगारीका अवसरबारे प्रत्यक्ष जोडेको पनि बताए ।
संघका अध्यक्ष खड्काको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर प्रमुख गोम्देनको प्रमुख आतिथ्य रहेको थियो । स्वागतसहित कार्यक्रमको औचित्य र मेलाको विवरण अध्यक्ष खड्काले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी चतुरभूज काफ्लेले गरेका थिए ।
मेलामा रोजगार सम्बन्धी अवसरका साथै जातीय झाँकी, सांस्कृतिक कार्यक्रम तथा धार्मिक पर्यटन प्रवद्र्धनसँग सम्बन्धित गतिविधिसमेत समावेश गरिएको थियो । मेलामा नगरका बिद्यालयहरुको उल्लेखिय सहभागीता र सांस्कृतिक प्रस्तुतीसमेत रहेको थियो । रोजगार मेलामा आन्तरिक र बाह्य गरेर करिव ७ हजारले अवलोकन गरेको आज (शुक्रवार) समापन कार्यक्रम बताइएको छ । मेलामा बिभिन्न २५ वढी स्टलहरु रहेका थिए ।


















