झापा ।
झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आज (सोमवार) बिहान मेचीनगर–१५ कालिकास्थित भित्री सडकखण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेशको प्र ०१–००२ झ ७३६० नम्बरको स्कोरपियो एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा सिटी सफारीमा सवार एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा मेचीनगर–१५ की ४० वर्षीया आरती उराउ गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरिएको थियो ।
दुर्घटनापछि स्कोरपियो चालक भद्रपुर नगरपालिका–१० का ५४ वर्षीय लीला श्रेष्ठ र सिटी सफारी चालक मेचीनगर–६ का ४५ वर्षीय गम्भीरप्रसाद बातरलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















