शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिकाका १८ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनीपुर्जा वितरण गरिएको छ । आज (बिहीवार) नगरपालिकाको सभाहलमा आयोजित ‘जग्गा धनीपूर्जा वितरण कार्यक्रम’का अर्जुनधारा–११ लक्ष्मीधापका १८ परिवारलाई जग्गा धनीपूर्जा वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अथिति झापा क्षेत्र नं. २ की सासंद इन्दिरा रानामगर, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, नगर उपप्रमुख खड्गमाया पराजुली लगायतले उनीहरुलाई जग्गा धनीपूर्जा वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपसभामुख समेत रहनुभएकी सांसद रानामगरले भूमिसँग मानिसको भावनात्मक सम्बन्ध रहने भएकाले भूमिको विशेष महत्व हुने बताइन् । 

वर्तमान सरकारले निश्चित समयभित्र भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्ने योजना अघि सारे बमोजिम काम तीव्रगतिमा अघि बढाइएको भूमि समस्या समाधान समिति अध्यक्ष एवम् झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । 

अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले नगर क्षेत्रमा रहेको भूमि समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखिएको बताए उनले आफ्नै कार्यकालभित्र सबै भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरण गर्नेगरी कार्य अघि बढाएको बताए ।  नगरपालिकाको भूमि व्यवस्थापन शाखाले हाल बिदाको दिनमा समेत सेवा प्रवाह गरिरहेको छ । कार्यालय समय ९ बजे भएपनि बिहान ७ बजेदेखि सेवा प्रवाह भइरहेको नगरप्रमुख गोम्देनले बताए ।  

कार्यक्रममा स्वागत गर्दैै उपप्रमुख खड्गमाया पराजुलीले राजस्व दर बढी भएकाले पनि कतिपय तयारी अवस्थामा रहेका धनीपूर्जा वितरण गर्न नसकिएको बताइन् ।  नगरपालिकाले यस अघि एक सय ४४ वटा वितरण भइसकेको बताइन् । भूमि सम्बन्धी समस्या समाधानको गर्न पहल  सांसद रानामगर र प्रमुख जिल्ला अधिकारी गेलाललाई आग्रहसमेत गरिन् ।

अर्जुनधारा–१ मा करिब एक सय २५ धनीपूर्जा वितरणको अवस्थामा रहेको नगरपालिकाका भूमि शाखा प्रमुख चुडामणि निरौलाले जानकारी दिए । अर्जुनधारा–२ का करिब ४२ परिवारलाई धनीपूर्जा वितरणका लागि अन्तिम अवस्थामा पुगेको बताए ।अर्जुनधारा नगरपालिकामा भूमिहीन दलित दुई सय १२, भूमिहीन सुकुम्बासी सात सय २९ र अव्यवस्थित बसोबासी छ हजार तीन सय ५१ जना रहेको भूमि शाखा प्रमुख चुडामणि निरौलाले बताए ।