बिर्तामोड ।

 ‘स्वच्छ खानेपानी, स्वस्थ र सभ्य नागरिक’ भन्ने मुल नाराका साथ स्थापना भएको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हालसम्म गरेको उपलब्धी र भावी कार्ययोजना सार्वजनिक गरेको छ । आज (शुक्रवार) कार्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा संस्थाले आठौँ कार्यकालको यो अवधिसम्ममा हासिल गरेका उपलब्धि र भावी योजना सार्वजनिक  गरिएको हो ।

बिर्तामोड खानेपानीले हाल ११ हजार धाराबाट चौबीसै घण्टा सेवा उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले जानकारी गराए । संस्थाका अनुसार हाल बिर्तामोड नगरपालिकाका सम्पूर्ण १० वटै वडा र छिमेकी अर्जुनधारा नगरपालिकाका वडा नम्बर ५, ६ र ११ का केही भागमा पानी वितरण भइरहेको छ । ३ थान ओभरहेड र थप २ ठाउँको आयोजनासहित ५७५ किलोमिटर पाइपलाइनमार्फत ११ हजार धाराबाट करिब १ लाख जनसंख्यालाई प्रत्यक्ष रूपमा चौबीसै घण्टा शुद्ध खानेपानी पु¥याइएको छ ।

एसियन हाइवे अर्थात चारआली देउनिया पुलदेखि लक्ष्मीपुर घाग्रा पुलसम्म निर्माणका क्रममा क्षति पुगेको पुरानो पाइपलाइनको सट्टा दुवैतर्फ ६÷६ किलोमिटर नयाँ पाइपलाइन विस्तार भइरहेको छ । साथै, शनिश्चरे रोड र हर्कलाल मार्ग क्षेत्रमा एचडिपिइ पाइप विस्तार गरिएको अध्यक्ष बाँस्तोलाले बताए । त्यस्तै, जग्गा खरिद गरी नयाँ डिप बोरिङ, फिल्टर प्लान्ट र पर्खाल घेराबारा गरिएको छ । अर्जुनधारा–६ मा फिल्टर प्लान्ट र २०० केभिएको ट्रान्सफर्मर जडान अन्तिम चरणमा पुगेको छ ।

विराटपोखर बोरिङको पानी शुद्धीकरण गरी गरामनी र सैनिक बजारतर्फ वितरण सुरु गरिएको संस्थाले जनाएको छ । प्रविधिमैत्री सेवाका लागि सम्पूर्ण पाइपलाइन, पम्प, र भल्भको स्थिति अध्ययन गर्न जिआइएस प्रणाली लागु गरिएको छ । प्रत्येक उपभोक्ताको घरमा क्युआर कोडसहितको हाउस नम्बर प्लेट प्रिन्ट गरी लगाउने कार्य जारी रहेको संस्थाले जनाएको छ ।

संस्थाले यसै वर्षदेखि बिर्तामोड नयाँ बस पार्कमा थप एक बोरिङ्ग जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । बिर्तामोड नगर क्षेत्रभित्र सञ्चालनमा आएका र नआएका अन्य खानेपानीहरुलाई पनि एकीकृत सामुदायिक खानेपानीको अवधारणा अनुसार एकीकृत गर्दै लगिने योजना रहेको बताइएको छ । चारपाने चोकबाट दक्षिण बाह्रदशी र हल्दीबारी सिमानासम्मका उपभोक्ताहरुलाई पानी उपलब्ध गराउने उद्देश्यले उक्त क्षेत्रमा पनि थप एक आयोजना सञ्चालनमा ल्याइने अध्यक्ष बास्तोलाले बताएका छन् ।

जथाभावी रुपमा गरेको जग्गाको प्लटिङ, बाटो, ढल लगायतको अव्यवस्थित निर्माणका कारण संस्थाको पाइपलाइनमा अत्यधिक क्षति पुग्ने गरेको जनाइएको छ । विगत ३० वर्षदेखि विस्तार गरिएको पाइपलाइन तथा भल्व चेम्बरहरु हाल सहरीकरण र सडक विस्तार गरिएकाले धेरै क्षेत्रमा पाइप बढी गहिराइमा परेको तथा सडकको बीचमा परेकाले पाइपलाइन मर्मत तथा नयाँ धारा जडानमा कठिनाइ उत्पन्न हुने गरेको बाँस्तोलाले बताएका छन् ।

पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकार हर्कलाल गिरी, राजकुमार पोखरेल, मदनगोपाल सुब्वा, राजेन्द्रप्रसाद लिङ्देन, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौला, कोषाध्यक्ष शारदा रिजालसहित पदाधिकारी तथा सदस्य साथै कर्मचारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव पारसमणि मैनालीले गरेको कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिए ।