झापा। 

झापामा सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव भड्काउनेलाई कानुनी कारवाही हुने भएको छ ।  सामाजिक सञ्जालहरूमा सम्प्रेषित तथ्यहीन, भ्रामक र उत्तेजक सामग्रीहरूले झापा जिल्लाको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने जोखिम देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले त्यसप्रति आफ्‌नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले एक सूचना जारी गर्दै  प्रचलित कानुन विपरीत सामाजिक संजालमा साम्प्रदायिक विद्वेष फैलाउने, सामाजिक सद्भाव भड्काउने वा शान्ति सुरक्षामा खलल पुऱ्याउने कार्यमा संलग्न जो–कोहीलाई मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गरिने चेतावनी दिएका हुन् ।

उनले शान्तिपूर्ण, सुरक्षित र मर्यादित समाज निर्माणका लागि जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघ–संस्था, सञ्चारकर्मी, युवा वर्ग र आम जिल्लावासीमा आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक, टिकटक, एक्स आदिमा जातीय, धार्मिक, क्षेत्रीय वा साम्प्रदायिक भावनामा ठेस पुग्ने, द्वेष फैलाउने वा हिंसा भड्काउने खालका पोस्ट, कमेन्ट, वा सेयर नगर्न, नगराउन ,कुनै पनि अप्रमाणित, तथ्यहीन वा भ्रामक खबर हल्लाको पछि नलागी आधिकारिक निकायबाट पुष्टि भएका सूचनाहरूलाई मात्र विश्वास गर्न, कुनै पनि विषयमा मतभेद वा असमझदारी भएमा आपसमा वार्ता, संवाद र कानुनसम्मत माध्यमबाट हल खोज्दै सामाजिक एकता जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ ।

samajik