बिर्तामोड ।
बिर्तामोड नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयलाई ‘लागुऔषधविरुद्ध झापा अभियान’ अन्तर्गत सचेतनामूलक पोस्टर हस्तान्तरण गरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको सहकार्य तथा बिर्तामोड नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई पोस्टर हस्तान्तरण गरेकी हुन् । त्यसपछि ती पोस्टर विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रसाईले समाजलाई लागुऔषधमुक्त बनाउन जनप्रतिनिधि, शिक्षक तथा सामाजिक संघसंस्थाहरू एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको बताइन्। उनले जिल्लाका १५ वटै स्थानीय तहले यस्ता अभियानलाई सहयोग गर्नुपर्ने उल्लेख गर्दै लागुऔषध नियन्त्रणमा नेपाल प्रहरीको भूमिका प्रशंसनीय रहेको धारणा व्यक्त गरिन् ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि जिल्लाभर विभिन्न सचेतनामूलक तथा नियन्त्रणात्मक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन् । उनका अनुसार हालसम्म जिल्लाका ७१ वटा प्रहरी युनिटका फोकल पर्सनलाई तालिम प्रदान गरिसकिएको छ। अब शिक्षकहरूका लागि विशेष तालिम सञ्चालन गरिने र युवालाई लक्षित गर्दै फुटबल प्रतियोगितामार्फत पनि अभियान अघि बढाइनेछ। शिक्षकहरूलाई लागुऔषध दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगका विषयमा प्रशिक्षण दिइने उनले बताइन् ।
प्रहरी उपरीक्षक खड्काका अनुसार जिल्ला प्रहरी कार्यालय झापाले गत असार १ गतेदेखि ११ गतेसम्म सञ्चालन गरेको लागुऔषधविरुद्धको ‘स्विप अपरेसन’ अन्तर्गत ६ सयभन्दा बढी लागुऔषध दुर्व्यसनीलाई नियन्त्रणमा लिइएको थियो।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले विद्यार्थीलाई सही मार्गमा हिँडाउने महत्वपूर्ण जिम्मेवारी शिक्षकको भएकाले विद्यालयलाई अभियानको केन्द्र बनाइएको बताए। उनले अभियान सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए। यस्तै नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी र वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले लागुऔषधविरुद्धको अभियानमा सबै क्षेत्रबाट सक्रिय सहभागिता जनाउन आग्रह गरे ।
प्रहरीका अनुसार हाल झापामा थुनामा रहेका ९३ जनामध्ये करिब ८० प्रतिशत लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्त रहेका छन्। आर्थिक अपराधपछि जिल्लामा सबैभन्दा धेरै दर्ता हुने मुद्दा लागुऔषधसम्बन्धी रहेको जनाइएको छ। जिल्लाका सबै स्थानीय तह लागुऔषधको जोखिममा रहेको प्रहरीको निष्कर्ष छ। जिल्ला प्रहरी कार्यालय झापाले अभियानअन्तर्गतका कार्यक्रम अर्जुनधारा, शिवसताक्षी र बिर्तामोड नगरपालिकामा सम्पन्न गरिसकेको जनाएको छ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी सन्तोष पाठक, बिर्तामोडका विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायत शिक्षकहरुको उपस्थिति थियो । सोहि अवसरमा लागुऔषधले पारेको प्रभावका विषयमा वृतचित्रसमेत देखाइएको थियो ।
प्रतिक्रिया 0