झापा ।
झापाका दुई पालिकामा छिमेकी स्थानीय तहसँग गाभ्ने बिषयमा छलफल भएको छ । हल्दीवारी गाउँपालिका र कनकाई नगरपालिकामा छिमेकी स्थानीय तहसँग गाभ्ने बिषयमा छलफल भएको थियो ।
जसमा हल्दीवारी गाउँपालिकामा भएको छलफलले अर्को स्थानीय तहसँग गाभ्ने सम्भावनालाई अस्वीकार गरेको छ। हल्दीबारीको आफ्नै ऐतिहासिक पहिचान, भौगोलिक अवस्था, सामाजिक संरचना तथा स्थानीय आवश्यकता रहेको भन्दै पालिकाको अस्तित्व र सीमा परिवर्तन नगर्ने स्पष्ट निर्णय गरेको हो।
हल्दीबारी गाउँपालिकाको पालिका सीमा हेरफेर तथा स्थानीय तहको वर्गीकरण पुनरावलोकन सम्बन्धी विषयमा सर्वदलीय छलफल सम्पन्न भइसकेको छ ।
छलफलमा सहभागी राजनीतिक दल तथा सरोकारवालाहरूबीच हल्दीबारी गाउँपालिकालाई कुनैपनि अन्य स्थानीय तहसँग समायोजन वा गाभ्ने कार्य नगर्ने र यसको भौगोलिक, ऐतिहासिक तथा प्रशासनिक पहिचानलाई यथावत् कायम राख्ने विषयमा सर्वसम्मत धारणा बनेको हो । त्यसैगरी, जनसंख्याको आधारमा हाल कायम रहेका वडा नं. १ र वडा नं. २ मा थप एक÷एक वडा कायम गरी हालको ५ वडालाई ७ वडामा विस्तार गर्न सम्बन्धित सरकारी निकायसमक्ष आवश्यक पहल तथा औपचारिक माग गर्ने निर्णयसमेत गरिएको छ।
बैठकले स्थानीय तहको पुनर्संरचना गर्दा स्थानीय जनताको भावना, भौगोलिक सुगमता, प्रशासनिक पहुँच, जनसंख्या तथा ऐतिहासिक पहिचानलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिएको छ।
यसैगरी भूगोल र स्रोत साधनका आधारमा छिमेकी पालिका बिर्तामोड नगरपालिका र झापा गाउँपालिकासँग गाभ्न सकिने संभावनालाई खुल्ला राख्दै कनकाई नगरपालिकाले आन्तरिक छलफल शुरु गरेको हो । कनकाईको पालिका सीमा हेरफेर तथा स्थानीय तहको वर्गीकरण पुनरावलोकन सम्बन्धी विषयमा सर्वदलीय छलफल भएको थियो । छलफलमा समान स्रोत साधन भएको छिमेकी बिर्तामोड नगरपालिका र कम स्रोत साधन भएको झापा गाउँपालिकासँग गाभ्न सकिने सहभागीहरुले बताएका थिए ।
राजनीतिक दलका नेतापिच्छे फरक फरक धारणा आएको छलफलमा वडाबासीहरुका लागि अपायक र असहज भएको बाह्रदशी गाउँपालिकाको वडा नं ४ र शिवसताक्षी नगरपालिकाको वडा नं ७ लाई कनकाई नगरपालिकामा गाभ्दा सहजता हुने केही सहभागीहरुले बताएका नगरले जनाएको छ ।
कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलका अनुसार कसैले बिर्तामोड नगरपालिकासँग गाभेर उपमहानगरपालिका बनाउनु पर्ने बताएका थिए भने कसैले झापा गाउँपालिकासँग गाभेर भारतको सिमानादेखि उत्तर चुरे पहाडसम्मको पालिका निर्माण गरिनु पर्ने प्रस्ताव गरेका थिए । छलफलबाट निष्कर्षमा पुग्न नसकिएको बताउँदै नगर प्रमुख पोखरेलले त्यसको लागि अर्को बैठक राखिएको जानकारी दिएका छन् ।


















