झापा । 

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको साथै हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा साधारणतया बदली भएको छ । मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली भएको छ । बागमती र कर्णाली प्रदेशका केही तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

 आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।

यसैगरी, राति पनि देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै हिमाली भागका केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।