झापा । 

झापासहित पाँच वटा जिल्लामा भोलि अर्थात शनिवार बिद्युत आपूर्ति बन्द हुने भएको छ । झापा, इलाम, पाँचथर, ताप्लेजुङ र मोरड जिल्लाको पथरी, उर्लाबारी आसपासका क्षेत्रमा १२ घण्टा बिद्युत आपूर्ति हुने नेपाल विद्युत प्राधिकरण केरौन १३२/३३ के.भी. सबस्टेशन आयोजना कोशी प्रदेशिक कार्यालयले जनाएको छ । 

कोशी प्रदेशिक कार्यालयले एक सूचना जारी गर्दै भोलि अर्थात साउन २३ गते बिहान ४ बजेदेखि बेलुका ४ बजेसम्म बिद्युत प्रसारण लाइन बन्द रहने जनाएको हो । नेपाल विद्युत प्राधिकरण, केरौन १३२/३३ के.भी. सबस्टेशन आयोजना अन्तर्गत केरौन सबस्टेशनका केहि यन्त्रहरूको परीक्षण तथा सबस्टेशन सञ्चालन गर्न दुहबी ग्रिड महाशाखा अन्तर्गत दुहबी–दमक १३२ के.भी. प्रसारण लाइनको केरौन स्थित टावर नं. ६८ र ६९ को बीचमा डेड–इन्ड टावर जडान कार्य हुने भएकोले विद्युत आपूर्ति बन्द हुने बताइएकोे छ । 

कोशी प्रदेशिक कार्यालय अन्तर्गतका विभिन्न जिल्लाहरू तथा जिल्लाका केहि भागहरूमा विद्युत आपूर्ति बन्द हुने जारी सूचनामा उल्लेख छ । जारी सूचनामा डेड–इन्ड टावर जडान तथा प्रसारण लाइनमा मर्मत र प्राविधिक परीक्षण गरिनेछ ।  उक्त कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा विद्युत सेवा तत्काल सञ्चालन गरिने साथै मौसम वा प्राविधिक कारणले कार्यतालिका आवश्यक परे परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ ।