दमक । 

विगत १४ वर्षदेखि निरन्तर कलम चलाउँदै आएका राजन साम्पाङ राई सम्मानित भएका छन् ।  किरात राई यायोक्खा झापाले आफ्नो ३९ औं स्थापना दिवसको अवसरमा पत्रकार साम्पाङलाई सम्मान गरिएको हो । साम्पाङलाई यायोक्खा केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि इन्द्रमान राईले नगद, प्रमाणपत्र र पगरी गुथेर सम्मान गरेका थिए । 

सम्मानित साम्पाङलाई शुभकामना दिँदै प्रमुख अतिथि राईले नेपाली सञ्चार जगतमा इमान्दारीता पूर्वक काम गर्दै आएका साम्पाङ आदिवासी जनजातिका पक्षमा मात्र होइन समग्र जनताको पक्षमा कलम चलाएर देश र समाजको उन्नतिमा योगदान दिएको भन्दै प्रशंसा गरेका थिए । 

साम्पाङ किरात राई पत्रकार संघ झापाका अध्यक्ष, फोनिज प्रदेश १ का पूर्व सदस्य, नेपाल पत्रकार महासंघ झापाका पूर्व कार्यसमिति सदस्य तथा मानवअधिकारवादी संस्था इन्सेकमा रहेर काम गरिसकेका कुशल पत्रकार हुन् । साम्पाङ यलम्वर टाइम्स डटकमका सम्पादक भएर काम गर्दै आएका छन् । क्रियाशिल पत्रकारका रुपमा रहेर काम गर्दै आएको भनी यायोक्खा झापाले शुक्रबार सम्मान गरेको हो ।

किरात राई यायोक्खाले प्रदान गर्दै आएको उक्त पुरस्कारबाट यसअघि अग्रज पत्रकार दिपीन राई, रमेश समदर्शी राई, अनिदेव राई, भारती राई, अमित खम्बू, धर्म राई लगायतले प्रदान गरिसकेको यायोक्खा झापाका कार्यवाहक सचिव गौरीमान राईले जानकारी दिए ।

यायोक्खा झापा अध्यक्ष गणेश राईको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले आ–आफ्नो विचार राखेका थिए । कार्यक्रममा एसईईमा उत्र्तीण छात्रछात्रालाई पनि सम्मान गरिएको थियो ।