झापा  । 

आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्ने गरेका छन् । साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । 

साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । झापासहित देशभरका धार्मिक नदीनालाबाट शिवालयहरुमा जल ल्याएर चढाइने पनि  गरिन्छ । पूर्वको पशुपति नाथका नामले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा पनि कनकाई नदीसहित बिभिन्न खोलानालाबाट जल ल्याएर चढाइने गरिन्छ ।  

यसपटकको साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको संयोग परेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । उनीहरुका अनुसार सोमबारको दिन त्रयोदशी तिथी परेमा सोमप्रदोष भनिन्छ ।

‘प्रदोष’ भनेको सामान्यतः सूर्यास्तअघि÷पछिको विशेष समय हो, जुन शिवपूजाका लागि शुभ ठानिन्छ । प्रदोषकाल, अर्थात् साँझ सूर्यास्त आसपासको समयमा शिव मन्दिरमा गएर दीप प्रज्वलनसहित पूजा आराधना गर्दा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास गरिन्छ । यस दिन दूध, दही, घ्यु, बेलपत्रले पूजा गर्दै पहेँलो चिज चढाएमा शुभ हुने बताइन्छ ।