बिर्तामोड ।
वीरता जेसीजको आयोजनामा महिनाभर सञ्चालन गरिएको शिवउत्सव तथा भजनसन्ध्या एक कार्यक्रमका बीच सम्पन्न भएको छ। वीरता जेसीज भवनसँगै रहेको शिवपाञ्चायन मन्दिर परिसरमा आयोजित समारोहसँगै शिवउत्सव तथा भजनसन्ध्याको समापन गरिएको हो। वीरता जेसीजका पूर्वअध्यक्ष जेसीआई सिनेटर प्रशान्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वीरता जेसीजका उपाध्यक्ष जेसी नवराज अधिकारीले आस्थावाचन गरेका थिए । कार्यक्रम संयोजक तथा वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष जेसी प्रज्वल बिमलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वीरता जेसीजका पूर्वअध्यक्ष जेसी घनश्याम चौधरी, बिर्तामोड लायन्स क्लब अफ स्मार्ट लेडीकी निवर्तमान अध्यक्ष इन्दिरा खरेल तथा शिवपाञ्चायन भजन मण्डलीकी अध्यक्ष कमला बास्कोटा लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जेसीआई सिनेटर प्रशान्त भण्डारी र विशिष्ट अतिथि जेसी घनश्याम चौधरीले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनीहरूले हिन्दू धर्म, संस्कार तथा संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा धार्मिक एवं सांस्कृतिक चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
सो अवसरमा वीरता जेसीज भवन तथा शिवपाञ्चायन मन्दिरका लागि जग्गा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याउनुहुने जग्गादाता स्वर्गीय परशुराम ढकाललाई विशेष रूपमा स्मरण गरिएको थियो। प्रमुख अतिथि तथा सभाध्यक्षले स्वर्गीय ढकालको योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उनको योगदान धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सदैव स्मरणीय रहने बताए।
शिव उत्सव अवधिभर प्रत्येक सोमबार बिहान शिवजीको पूजा–आराधना तथा प्रसाद वितरण गरिएको थियो। शिवपाञ्चायन मन्दिरका मूल पुजारी कमल ढकालबाट विधिपूर्वक पूजा–आराधना गराई भक्तजनलाई प्रसाद वितरण गरिएको थियो। त्यस्तै, प्रत्येक सोमबार साँझ भजनसन्ध्या आयोजना गरी शिवभक्तिमय वातावरणमा भजन प्रस्तुत गरिएको थियो।
महिनाभर नियमित रूपमा भजन प्रस्तुत गरी शिवउत्सव तथा भजनसन्ध्यालाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको शिवपाञ्चायन भजन मण्डलीलाई समापन समारोहमा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। भजन मण्डलीकी अध्यक्ष कमला बास्कोटासहित सम्पूर्ण सदस्यहरूको योगदानको प्रशंसा गर्दै आयोजक वीरता जेसीजले धन्यवाद व्यक्त गरेको थियो।
कार्यक्रममा धार्मिक आस्था, संस्कार तथा संस्कृतिको संरक्षणसँगै समुदायमा आपसी सद्भाव, एकता र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो। वीरता जेसीजले “Together We Can” भन्ने मूल भावनाका साथ सामाजिक, धार्मिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिलाई निरन्तर अघि बढाउँदै आएको महासचिव जेसी सुवास तिखत्री जानकारी दिए ।


















