सुरुङ्गा । 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कनकाईको आयोजनामा युवाहरुको ऊर्जा र ज्येष्ठ नागरिकको जीवन अनुभव तथा ज्ञानलाई एकै ठाउँमा जोड्ने उद्देश्यले कनकाईमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनमा धेरै समय र परिस्थितिहरू सामना गरेको अनुभवहरुलाई सुन्न, बुझ्न र मनन गर्दै ती कुराहरूलाई ज्ञान र विवेकको रूपमा ग्रहण गर्ने मनसायले कार्यक्रमको गरिएको नेकपा कनकाईका अध्यक्ष प्रतीक राजवंशीले जानकारी दिए । 

अध्यक्ष राजवंशीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ भन्ने मौलिक भनाइको सान्दर्भिकता दर्शाउँदै युवाहरुको ऊर्जा र बुजुर्गहरुको धैर्यता, विवेक र अनुभवको संगमले मात्र देश विकास समाज रुपान्तरण  बताएका छन् । जेष्ठ व्यक्तित्व खड्गप्रसाद प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा  विशेष अतिथिका रूपमा जेष्ठ नागरिक वडा ३ समिति अध्यक्ष डिल्लीराम पाठक, नेपाली कम्युनिस्ट पार्टी कनकाई इन्चार्ज यमनाथ सेढाई  रहेका थिए । 

नव युवाहरु अशोक कार्की, राजेश चौहान, कविन तामाङ, राज चौहान, अशोक चिमरिया र अमृत कार्कीले ज्येष्ठ नागरिकहरु माझ प्रश्न गर्दै आफ्ना अनुभवका लागि आग्रह गरेका थिए। ज्येष्ठ नागरिक तर्फबाट वक्ताहरु देवी काफ्ले, हरिभत संग्रौला, हरिप्रसाद तिम्सिना र कृष्णप्रसाद घिमिरेले युवाहरुको प्रश्नहरुको जवाफ दिँदै उपदेश मुलक ज्ञान आदान–प्रदान  गरेका थिए ।  साथै युवाहरूमा देखिएको लागू औषध दुव्र्यसन, धुम्रपान, विदेश पलायन र मोबाइल गेम र सामाजिक सञ्जाल धेरै समय व्यतीत गरी परिवार र जेष्ठ नागरिकसँग दूरी बढेकोमा चिन्ता व्यक्त भएको थियो। 

ती समस्याहरूको समाधानको लागि जेष्ठ नागरिकको पनि भूमिका रहने र गलतलाई गलत भन्दै निगरानी गर्नु पर्ने नेपाली कम्युनिस्ट पार्टी कनकाईका इन्चार्ज यमनाथ सेढाईंले बताए। कार्यक्रमको सञ्चालन नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तेजबहादुर आचार्यले गरेका थिए ।