झापा ।
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
श्रेष्ठलाई म्याद थपका लागि अदालतमा पेस गरिएको थियो। उनलाई बुधबार ललितपुरको बागडोलबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएकाले सोही आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो। उक्त समाचारमा नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएपछि श्रेष्ठमाथि कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ ।

















