झापा । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हल्दीबारीसहित झापाका ६ वटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको एकैसाथ सरुवा गरेको छ। मन्त्रालयले देशभरका ५२ जना शाखा अधिकृतको सरुवा गर्ने क्रममा हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) को पनि सरुवा भएको हो।

​अधिकृत वनलाई सूचना तथा सञ्चार मन्त्रालयमा पठाइएको छ। हल्दीबारी गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा भोजपुरको पौवादुङमा गाउँपालिकामा कार्यरत नविन भट्टराई आउने भएका छन्।

यसैगरी झापाका अन्य स्थानीय तहहरूमा पनि व्यापक हेरफेर भएको छ। कचनकवलका स्काइ पोख्रेल र बाह्रदशीका गजेन्द्र थपलियालाई सूचना तथा सञ्चार मन्त्रालय, झापा गाउँपालिकाका जनार्दन निरौलालाई पाँचथरको कुम्मायक, गौरिगञ्जका खेमराज थापालाई भूमि व्यवस्थापन तथा अभिलेख विभाग काठमाडौँ र कमल गाउँपालिकाका केशवकुमार ढकाललाई गृह मन्त्रालय सरुवा गरिएको छ।

​अन्य गाउँपालिकाहरूमा सोलुखुम्बुका देवेन्द्र सुवेदीलाई झापा गाउँपालिका, भोजपुरका महेश निरौलालाई गौरीगञ्ज र पाँचथरका सुमन याङयालाई कमल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ।