बिर्तामोड l

 नेपालमा बढ्दो सवारी चापसँगै ट्राफिक दुर्घटनाका घटनाले जनधनको ठूलो क्षति पुर्‍याइरहेको अवस्थामा सडक सुरक्षा तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले वीरता जेसिजले जेसीज सप्ताह २०२६ अन्तर्गत “दुर्घटना न्यूनीकरण महाअभियान २०२६” शुभारम्भ गरेको छ।

वीरता जेसिजका अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन तथा स्वागत मन्तव्य जेसी सुमन पोद्दारले राखेका थिए।कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका पूर्व मन्त्री तथा कोशी प्रदेश सभा सदस्य माननीय एकराज कार्की रहेका थिए भने विशिष्ट अतिथिका रूपमा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष पाठक तथा सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेका प्रमुख मदन बहादुर धानुकको उपस्थिति रहेको थियो।

त्यसैगरी बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश खत्री, वीरता जेसिजका पूर्व अध्यक्ष जेसी प्रविण खड्का तथा सिनेटर घनश्याम चौधरी लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा विगत २२ वर्षदेखि सवारी चालकको रूपमा कार्यरत रहँदा कुनै पनि सवारी दुर्घटना नगराई सुरक्षित यात्रा संस्कृतिको उदाहरण प्रस्तुत गर्नुभएका पुष्पलाल थापा मगरलाई सम्मान गरिएको थियो। उहाँलाई प्रमुख अतिथि एकराज कार्की तथा अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठले नगद रु. ५,००० र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए। सुरक्षित सवारी सञ्चालनमार्फत दुर्घटना न्यूनीकरणमा उहाँले पुर्‍याएको योगदान अनुकरणीय रहेको वक्ताहरूले बताएका थिए।

दुर्घटना न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउन नेको इन्स्योरेन्सको सहयोगमा ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी २,००० वटा सचेतनामूलक स्टिकर टाँस अभियान समेत शुभारम्भ गरिएको छ। उक्त अभियान जेसीज सप्ताहभर विभिन्न सार्वजनिक तथा व्यावसायिक सवारी साधनमा सञ्चालन गरिने जनाइएको छ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख दिनेश खत्रीले अधिकांश दुर्घटनाहरू मानवीय लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति तथा ट्राफिक नियमको बेवास्ताका कारण हुने गरेको उल्लेख गर्दै सचेतना र अनुशासन नै दुर्घटना न्यूनीकरणको मुख्य आधार भएको बताए।

वीरता जेसिजका पूर्व अध्यक्ष जेसी प्रविण खड्का, पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर घनश्याम चौधरी तथा प्रमुख अतिथि एकराज कार्कीले सडक सुरक्षालाई सबै सरोकारवालाको साझा दायित्वका रूपमा लिएर दुर्घटना न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रमको प्रारम्भमा कोषाध्यक्ष जेसी अमरजित शाहले जेसीज आस्था वाचन गरेका थिए भने जेसी प्रभास थापा मगरले सम्मानपत्र वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव जेसी सुवास तीखत्रीले गरेका थिए।

वीरता जेसिजले सडक सुरक्षा र ट्राफिक सचेतनामार्फत दुर्घटनारहित समाज निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।