हल्दीबारी । 

संविधान दिवसको अवसरमा झापाको हल्दीबारी–३ स्थित ढडुवा बजारमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। संविधानको संरक्षण, प्रभावकारी कार्यान्वयन र संवैधानिक मूल्य–मान्यताको सम्मान गर्दै विधिको शासन, नागरिक अधिकार र लोकतान्त्रिक संस्कारप्रति प्रतिबद्धता जनाउने उद्देश्यले ढडुवा युवा क्लब परिवारले कार्यक्रम आयोजना गरेको हो।

ढडुवा युवा क्लबका अध्यक्ष गोपाल न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हल्दीबारी–३ का वडाध्यक्ष विष्णुप्रसाद ओली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा वडा सदस्य कर्ण भण्डारी, क्लबका शुभचिन्तक प्रकाश ढकाल, ॐ भट्टराई, दिनेश मेचे लगायत स्थानीय युवा, विद्यार्थी तथा क्लबका अग्रज र अनुजहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा दीप प्रज्वलन गर्दै सहभागीहरूले संविधानलाई केवल अक्षरमा सीमित दस्तावेजका रूपमा नभई हरेक नागरिकको अधिकार, स्वतन्त्रता, समानता, सामाजिक न्याय, राष्ट्रिय एकता र कानुनी शासन सुनिश्चित गर्ने मूल आधारका रूपमा व्यवहारमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष विष्णुप्रसाद ओलीले संविधान मुलुकको मूल कानुन भएकाले संविधान र कानुनको शासनप्रति सबै नागरिकले समान अनुभूति गर्न सक्ने वातावरण निर्माण हुनुपर्ने बताउनुभयो। संविधानले प्रत्याभूत गरेका अधिकारको सुनिश्चितता र कर्तव्यको पालना गर्दै विधिको शासनलाई बलियो बनाउनु राज्यसँगै नागरिकको पनि साझा जिम्मेवारी भएको उनको भनाइ थियो। उनले संविधान दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई संविधानका मर्म र भावनालाई दैनिक जीवनमा कार्यान्वयन गर्ने संकल्पको दिनका रूपमा लिनुपर्नेमा जोड दिए।

दीप प्रज्वलन कार्यक्रममा सहभागी युवाहरूले संविधानको सम्मानसँगै सुदृढ लोकतन्त्र, सामाजिक सद्भाव, नागरिक अधिकार र जिम्मेवार समाज निर्माणका लागि आफ्नो तहबाट निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन ढडुवा युवा क्लबका सचिव अभिषेक खतिवडाले गरेका थिए ।