हल्दीबारी ।

कोशी डान्सिङ एन्ड सिङ्गिङ आइडल सिजन–४ मा टप २५ सम्मको यात्रा तय गर्दै हल्दीबारीको प्रतिनिधित्व गरिरहेकी गायिका सुशिला हस्दालाई ढडुवा युवा क्लब परिवारले आर्थिक सहयोग गरेको छ।

हल्दीबारी गाउँपालिका–४ निवासी हस्दालाई क्लबले आफ्नो तर्फबाट ५ हजार रुपैयाँ र क्लबको अगुवाइमा संकलित ९ हजार ३०५ रुपैयाँ गरी कुल १४ हजार ३०५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो।

क्लबका अध्यक्ष गोपाल न्यौपानेको संयोजकत्वमा हस्दाकै निवास पुगेको टोलीले एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरेको थियो। टोलीमा क्लबका सदस्यहरू ॐ भट्टराई, दिनेश मेचे, खड्ग बिष्ट तथा श्री पञ्चायत माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य अस्मिता मेयाङ्वोलगायतको उपस्थिति रहेको थियो।

हस्दाको प्रतिभा र सांगीतिक यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरिएको क्लबका सचिव एवं युवा अभियानकर्मी अभिषेक खतिवडाले जानकारी दिए। उनका अनुसार हल्दीबारीको प्रतिनिधित्व गर्दै गायन क्षेत्रमा अघि बढिरहेकी प्रतिभालाई आवश्यक समयमा साथ र हौसला प्रदान गर्नु सामाजिक दायित्वसमेत भएकाले क्लबले सहयोग अभियान सञ्चालन गरेको हो।

उनले भने ‘सुशिलाले आफ्नो प्रतिभामार्फत हल्दिबारीको पहिचान राष्ट्रिय स्तरमा पुर्‍याउने प्रयास गरिरहनुभएको छ। उहाँको यो यात्रामा हामी चुप लागेर बस्न सकेनौँ। स्थानीय प्रतिभालाई प्रोत्साहन र हौसला दिनु हामी सबैको साझा दायित्व हो भन्ने भावनाका साथ सहयोग लिएर उहाँकै निवासमा पुगेका हौँ।’

क्लबका अध्यक्ष गोपाल न्यौपानेले सहयोग रकम हस्तान्तरण गरेका थिए। सहयोग प्राप्त गरेपछि गायिका हस्दाले ढडुवा युवा क्लब परिवारले आफ्नो प्रतिभा र सांगीतिक यात्राप्रति देखाएको सद्भाव, माया र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै कृतज्ञता प्रकट गरिन् । 

पछिल्लो समय ढडुवा युवा क्लब परिवार समाज रूपान्तरण, सामाजिक सचेतना, स्थानीय प्रतिभाको प्रोत्साहन, आर्थिक सहयोग हस्तान्तरण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न अभियानमा सक्रिय रहँदै आएको छ। समुदायका आवश्यकता र समस्यालाई आत्मसात् गर्दै सहकार्य, एकता र सकारात्मक परिवर्तनका लागि क्लबले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ।

स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनदेखि सामाजिक सेवासम्मका गतिविधिमा युवाहरूको सक्रिय सहभागिता आवश्यक छ भन्ने सन्देश क्लबको यस पहलले दिएको छ। प्रतिभालाई अवसर र हौसला प्रदान गर्दै समाजमा सकारात्मक परिवर्तनका लागि युवाहरू स्वयं अग्रसर हुनुपर्छ भन्ने उदाहरणसमेत यस कार्यले प्रस्तुत गरेको छ।