दुधे ।
दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब आमनेसामने हुँदैछन्। दुधे रंगशालामा जारी प्रतियोगिताको फाइनलअघि दुवै टोलीले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने बताएका छन्।
फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा एपीएफका प्रशिक्षक जिवेश पाण्डेले आर्मीसँगको प्रतिस्पर्धाका लागि आफ्नो टोली तयार रहेको बताए। परिचित प्रतिद्वन्द्वी भएकाले दुवै टोली एकअर्काको रणनीतिबारे जानकार रहेको उनको भनाइ छ।‘हामी फाइनल खेलका लागि तयार छौँ। आर्मी परिचित टिम हो। हामीलाई उनीहरूको रणनीति थाहा छ, उनीहरूलाई पनि हाम्रो रणनीति थाहा हुन्छ,’ पाण्डेले भने।
एपीएफकी कप्तान रेनुका नगरकोटीले नियमित कप्तान अनिता बस्नेतको अभाव महसुस भइरहेको बताइन्। नयाँ खेलाडीहरूसँग समन्वय गर्दा केही चुनौती भए पनि टोलीले राम्रो माहोल बनाउँदै उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाइ छ।
यता आर्मीकी कप्तान दिपा राईले अन्य टोलीको तुलनामा कमजोर प्रतिस्पर्धाका कारण दर्शकको उपस्थिति र खेलप्रतिको आकर्षण कम भएको हुन सक्ने बताइन्। आर्मीका प्रशिक्षक राजु तामाङले एपीएफसँगको प्रतिस्पर्धा आफ्ना लागि नयाँ नभएको बताए। यसअघि तीन पटक आमनेसामने हुँदा दुई खेलमा पराजित र एक खेलमा विजयी भएको उल्लेख गर्दै उनले यो चौथो भेट भएको जानकारी दिए।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, प्रशिक्षक, स्ट्राइकर र गोलकिपरलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतिक्रिया 0