काठमाडौं । 

  नेपाली कामदारको मुख्य रोजगार गन्तब्य मानिने मलेसियामा कोरोना भाइरस  संक्रमणदर भयावह बन्दै गएको छ । लामो समय कोरोना भाइरसलाई नियन्त्रणमा राखेको मलेसियामा पछिल्ला दिनमा कोरोना संक्रमणदर  अत्याधिक बृद्धि भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शनिबारसम्म १२ लाख ४३ हजार ८ सय ५३ जना संक्रमित छन् भने   मृत्यु हुनेको संख्या १० हजार ३ सय ८९ रहेको छ । मलेसियाको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा नुर हासिमले अघिल्लो वर्ष सन् २०२० मा जम्मा ४ सय ७१ जनाको मृत्यु भएकोमा यस वर्षको ८ महिनामा मात्रै ९ हजार ९ सय १८ जनाको मृत्यु भएको र संक्रमितहरु बढ्ने क्रम नघटेको  जनाएको त्यहाँका सञ्चारमाध्यामहरुले उल्लेख गरेका छन् । 

 पछिल्ला दिनमा मलेसियामा मुख्यगरी सुरक्षागार्डको रोजगारीमा रहेका नेपाली कामदारहरुको पनि मृत्युको संख्या बढेको छ । पछिल्लो एक महिनामा कोरोना संक्रमणका कारण ३८ जना नेपाली कामदारको मृत्यु भएको नेपाली मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

आप्रवासी कामदारहरुको वासस्थानमा सुधार नगर्ने हो भने कोरोनाविरुद्धको खोपले पनि  संक्रमणदर नियन्त्रणमा लिन नसकिने स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।  अमेरिकाको भन्सार तथा सीमा सुरक्षा निकाय (सीबीपी) ले स्वदेशी तथा विदेशी कामदारहरुको कार्यस्थल र आवासको उचित व्यवस्थापन नभएको भन्दै आलोचना गरेको छ ।  मलेसियाको श्रम तथा कानून विभागका निर्देशक जीनि याकोबले मलेसियाको आवास सम्बन्धी न्यूनतम मापदण्ड, १९९० अनुरुप विदेशी कामदारको आवासको प्रवन्ध गर्न आग्रह गरेका छन् ।

उनले आवासको न्यूनतम मापदण्ड पूरा नगर्ने रोजगारदाताहरुलाई ५० हजार रिंगिटसम्म जरिवाना वा एक वर्ष जेल सजाय वा दुवै हुन सक्ने चेतावनी दिएका छन् । तर पनि रोजगारदाताहरुले लगानी बढ्ने भन्दै आप्रवासी कामदारहरुका लागि बस्ने उचित प्रवन्ध गरिरहेका छैनन् । विदशी कामदार बस्ने होष्टल साँघुरा भएका कारण अत्यन्तै भिडभाडयुक्त रहने र धेरै जनाले प्रयोग गर्ने एउटा शौचालय त्यो पनि राम्रो अवस्थामा नरहने बताइएको छ ।