बिर्तामोड । 

झापाको बिर्तामोडमा नेवार समुदायले मनाउँदै आएको गाइजात्रा यस बर्ष फरक शैलीमा मनाएका छन् ।   नेवाःपासा मुना पुचः बिर्तामोडले बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रभित्र दिवङ्गत भएका नेवार समुदायका मानिसहरुको सम्झनामा श्रद्धाञ्जलि कार्यक्रम गर्दै मनाएका हुन् । 

एक वर्षभित्र मृत्यु भएका २० जना सदस्यको सम्झनामा सापारु तथा श्रद्धाञ्जलि कार्यक्रम गरिएको नेवाःपासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।  सोही अवसरमा शारिरीक अशक्त भएका महिलाहरुलाई खाद्यन्न तथा विविध सामग्री वितरण गरिएको थियो । मृतकका परिवारले जम्मा गरेको सामग्री वितरण गरिएको जनाइएको छ । 

कार्यक्रममा मोहन माया माविका पूर्व प्रअ विन्दु श्रेष्ठले आफ्ना श्रीमान देवेन्द्र श्रेष्ठको सम्झनामा नेवा सहायता समूह (नेवाःग्वाहाली पुचः) लाई ११ हजार एक सय ११ रुपैंया प्रदान गरेको नेवाःपासा मुना पुचः बिर्तामोडका कार्यालय सचिव सञ्जय श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेवाःमिसा पुचः का अध्यक्ष निलम प्रधान, नेवाःग्वाहाली पुचः अध्यक्ष प्रमेश हलवाई, नेवाः ल्याम्ह पुचः का अध्यक्ष गम्भीररत्न शाक्य लगायतको सहभागिता रहेको थियो । भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व सोमबार झापासहित देशभर मनाइको छ ।