धुलाबारी । 

झापाको बुद्धशान्तिस्थित टिमाइ शिविरमा अवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित निर्माण गरिएको बुद्ध पार्कको कात्तिक १८ गते भोलि बुधबार उद्घाटन गरिने भएको छ ।

बुद्धपार्क उद्घाटन गर्न बौद्ध धर्मगुरु क्याब्जे मुसाङ कुछेन रिन्पोछे मेचीनगर आएका छन् । उद्घाटन कार्यक्रममा उनीसँगै कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बू पनि आउँदै छिन् । बुद्धपार्क उद्घाटन अघि धर्मगुरूसहित मेचीनगरको धुलाबारीबाट विशाल शान्ति र्याली सुरू गरेर कार्यक्रम स्थल पुग्ने बताइएको छ । र्यालीले विश्व शान्तिको कामना गर्ने नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्ष जगत बहादुर तामाङले जानकारी दिए ।

बुद्धको शान्ति, करुणा, मैत्री र अहिंसाको पवित्र सन्देश फैलाउने उद्देश्यले निर्माण गरिएको पार्कको उद्घाटन कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस्तो जानकारी दिएका हुन् । बुद्ध पार्क निर्माण समितिका अध्यक्ष मेनबहादुर तामाङका अनुसार पार्क एक बिघा तीन कट्ठा क्षेत्रफलमा फैलिएको छ । पार्कलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको उनले बताए ।

आयोजकका अनुसार पार्कलाई पूर्वकै ठूलो गुम्बासहितको धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्ने परिकल्पना गरिएको छ । यहाँ भगवान् गौतम बुद्धको शान्ति, करुणा र अहिंसाको सन्देश प्रवाह गर्नुका साथै तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पहिचान संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । 

पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ कोशी प्रदेशका अध्यक्ष जगतबहादुर तामाङ, उपाध्यक्ष रुपनारायण तामाङ, मेचीनगर अध्यक्ष भक्त बहादुर तामाङ, रामबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।

बुद्ध पार्क सञ्चालनमा आएपछि धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति संरक्षण तथा आन्तरिक पर्यटक आकर्षित गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएका छन् । पार्कलाई व्यवस्थित रूपमा विकास गरी धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउने लक्ष्यसमेत राखिएको छ । आयोजक पेनीर रिन्पोछे बुद्ध धर्मावलम्बी समाजले उद्घाटन कार्यक्रममा सहभागी भई धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण तथा वातावरण प्रवर्द्धनको अभियानमा साथ दिन सबैमा आग्रह गरेको छ ।