झापा ।
भारतमा विवाह गरेकी झापाकी नेपाली चेलीको सम्पत्ति हत्याउन आफन्तले नै टुक्राटुक्रा पारेर हत्या गरेको पाइएको छ । झापा गाउँपालिका–१ माइती भएकी डोली भनिने धोन्नी टुडुलाई माइत आउने क्रममा आफन्तले नै विभत्स ढंगले हत्या गरेको पाइएको प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ । उनीहरुले भदौ २४ गते आफूहरुले हत्या गरेको स्वीकार गरेका छन् । पक्राउ पर्नेहरुमा भारत किसनगञ्जका २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका–१ का ३७ वर्षीय लखन टुडु, सोही स्थानका ५६ वर्षीय सोमाइ हेमरम र २७ वर्षीय श्री हेमरम छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले भने, ‘झापा गाउँपालिकाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा २४ गते टुक्राटुक्रा पारेको शव फेला पर्यो । जहाँ कम्मरभन्दा माथिको भाग थिएन । शंकास्पद घटना लागेपछि हामी सक्रिय भयौँ । सूचना संकलन गर्दै जाँदा भारतमा एकजना महिला हराएको खबर पायौँ । जहाँबाट हामीलाई अनुसन्धानमा सफलता प्राप्त भयो ।’
उनका अनुसार पक्राउ परेकाहरुले टाउको, जीउको माथिल्लो भाग, कम्मर भन्दामुनि र घुँडाभन्दा तल गरेर शव चार टुक्रा पारेको बयान समेत दिएका छन् । उनीहरुले कम्मरभन्दा माथिको भाग खोलामा बगाएको समेत बताएका छन् ।
एसपी भट्टराईका अनुसार हत्या गरिएकी नेपाली चेली डोली भनिने धोन्नी टुडुका श्रीमान्को १५ दिनअघि मात्रै मृत्यु भएको खुलेको छ । टुडुका श्रीमानले दुई विवाह गरेका थिए । धोन्नी जेठी श्रीमती हुन् । उनका सन्तान छैनन् । पक्राउ परेकामध्ये ऐतवार मृतक डोलीका भाञ्जा लखन मृतक महिलाको सौताको भाइ रहेको खुलेको एसपी भट्टराईले जानकारी दिए ।
सोमाइ र श्रीले घटना लुकाउन सहयोग गरेको पाइएको छ । प्रहरीले धोन्नीकी सौताको समेत खोजी गरिरहेको छ । यसबारे भारतीय प्रहरीसँग पनि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुले धोन्नीको सम्पत्ति हत्याउन हत्या गरेको खुलेको छ । यसबाहेक उनीमाथि बोक्सीको आरोपसमेत लगाइँदै आएको खुलेको छ । घटनामा संलग्न अन्य अपराधीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


















