झापा । 

प्रजातान्त्रीक आन्दोलनका योद्धा रामप्रसाद दुलालको स्मृतीमा इलाममा जिल्लाकै सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कारको घोषणा भएको छ । नेपाल प्रेस युनियन इलामले फिक्कलमा आयोजना गरेको विजयादशमी, दिपावली, छठ र नेपाल संवतको शुभकामना आदान प्रदान कार्यक्रममा सो पुरस्कार घोषणा गरेकोे हो ।

दुलाल परिवार र नातीनातीनाको तर्फबाट युनियनका केन्द्रिय सदस्य माधव प्रसाद चम्लागाईले प्रत्येक बर्ष कृषि, पर्यटन, शिक्षा लगायतको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान गर्ने पत्रकारलाई प्रदान गर्ने गरी राम प्रसाद दुलाल (जिल्ला बा) स्मृती पत्रकारिता पुरस्कारको घोषणा गरेका हुन् ।

प्रत्येक वर्षको दशैं र तिहारको विचमा वितरण गर्ने सो पुरस्कारको राशि २० हजार रुपयाँ नगद रहने र इलामलाई आधार बनाएर इलाम भित्र र बाहिर रहेका पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने चम्लागाईँले जानकारी दिए । पुरस्कारको व्यवस्थापन तथा संयोजन नेपाल प्रेस युनियन इलामले गर्ने जनाइएको छ । इलाममा नेपाल पत्रकार महासंघले स्थापना गरेको आशिष स्मृती पत्रकारिता पुरस्कार प्रत्येक वर्षको बैशाख १ गते प्रदान गरिने गरेको छ । पुरस्कार घोषणाले जिल्लामा बसेर पत्रकारीता गर्ने पत्रकारहरुलाई हौसला थपेको युनियनकी जिल्ला अध्यक्ष सविता पाण्डेले बताइन् ।

२०१५ सालको चुनावी अभियानमा प्रजातन्त्रको पक्षमा उभिएका प्रजातान्त्रिक योद्धा दुलालले नेपाली कांग्रेसको इलाम जिल्लाको सभापतिको भुमिकामा समेत काम गरेको इतिहास छ । उनकै स्मृतिमा उनका छोराछोरी र नातानातिनाहरुले पुरस्कारका लागि अक्षयकोष खडा गरेर बर्षेनी पत्रकारलाई सम्मान गर्न लागेका हुन् ।

युनियनकी इलाम अध्यक्ष पाण्डेको सभापतित्वमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि चम्लागाईले पत्रकारिता क्षेत्रमा अहिले पनि संकट रहेको बताए । चम्लागाई रामप्रसाद दुलालकी काइली छोरी चन्द्रकला चम्लागाईका छोरा हुन् । उनी दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । हाम्रा कुरा डटकमका संस्थापक रहेका चम्लागाई पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् । उनकै अगुवाइमा पुरस्कार कोष स्थापना भएको हो । आगामी दिनमा रामप्रसादको स्मृतिमा प्रतिष्ठान नै खडा गरेर विभिन्न सामाजिक कामहरु गर्ने योजना परिवारको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश न १ का सदस्य तोयानाथ भट्टराई, पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, अग्रज पत्रकार प्रभाकर प्रधान, जीवन शर्मा, नेपाल बन पैदावार व्यवसायी संघका केन्द्रीय अध्यक्ष रोहित खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

२००७ सालमा प्रजातन्त्र प्राप्तीको आन्दोलनदेखि राजनीतिक आन्दोलन साथै सामाजिक, शैक्षिक, कृषि क्षेत्रको विकासमा अनवरत खटिएका राम प्रसाद दुलाल इलाममा ‘जिल्ला बा’भनेर परिचित थिए ।