बिर्तामोड ।

 साहित्य चौतारी बिर्तामोड  झापाले विगतका वर्षहरुमा झैं यस वर्ष आगामी कात्तिक १९ गते शुक्रबार गोवद्र्धन पूजाका दिन बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसरमा दक्षिणारहित सामुहिक सडक देउसी खेल्ने भएको छ ।

साहित्य चौतारी  बिर्तामोड झापाले साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यले २०५८ सालदेखि  दक्षिणारहित सामुहिक सडक देउसी खेल्दै आएको साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए ।

साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परिवारको अध्यक्षतामा भएका साहित्य चौतारी बिर्तामोड झापाका सल्लाहकार र पदाधिकारीेसहितको वैठकले यस्तो निर्णय गरेको हो ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण गत वर्ष  दक्षिणारहित सामुहिक सडक देउसी नखेलिएको उनले बताए ।  दक्षिणाकै लागी देउसी खेलिने परम्पराको अन्त्य गर्दै साहित्य , कला , संगीत र संस्कृतिको संरक्षण , सम्र्वद्धन गर्न बिर्तामोडको मुक्तिचोकस्थित  दुर्गा मन्दिरमा दक्षिणारहित सामुहिक सडक देउसी खेलिने उनले जनाए ।

  साहित्य चौतारी बिर्तामोड झापाकी संस्थापक संरक्षक उर्मिला विमली श्रेष्ठ, निवर्तमान अध्यक्ष टंक काफ्ले विकल्प , वरिष्ठ सल्लाहकार अनिरुद्र ओली,उपाध्यक्ष दिपक रायमाझी , विमला चिमरिया , कोषाध्यक्ष भवानीप्रसाद गौतम , सदस्यहरु तुलसीप्रसाद भट्टराई, चित्रा पौड्याल कोइराला , टीका नेपाल भट्टराई, मणी वर्देवा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव खगिन्द्रा खुशीले गरेकी थिइन् ।