विर्तामोड ।
नेपाली काङ्ग्रेस झापाको नवनिर्वाचित समितिको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । गत मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित सात पदाधिकारीसहित ७२ सदस्यीय समितिलार्इ निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेपश्चात शपथग्रहण तथा पद हस्तान्तरण गरिएको हो ।
नवनिर्वाचित सभापति देउमान थेवेलाई प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा तथा काङ्ग्रेस नेता पूर्व सांसद डिल्लीप्रसाद सिटौलाले शपथ गराएका थिए । थेवेले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराएका थिए। नेपाली कांग्रेस झापाका निवर्तमान सभापति उद्वव थापाले पार्टीको झण्डा तथा बैठक पुस्तिका हस्तान्तरण गर्दै पद हस्तान्तरण गराएका थिए ।
सो क्रममा प्रमुख अतिथि डिल्लीप्रसाद सिटौलाले महाधिवेशनमा देखिएको गुट–उपगुट अन्त्य गरेर नेता–कार्यकर्ताको मन जोड्न नयाँ जिल्ला समितिलाई सुझाव दिए ।
नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई शुभकामना दिदै नेता सिटौलाले भभने ‘नेता–नेताबीच कुम जोडेर मात्रै हुँदैन, मन जोड्नुस्, अनिमात्रै कांग्रेस बलियो र अपराजित शक्ति बन्छ ।’
१४ औं महाधिवेशनबाट पार्टीमा युवाहरुको सशक्त उपस्थिति सकारात्मक रहेको उल्लेख गर्दै नेता सिटौलाले बिचार दिएर सगठन अघि बढाउन नसके चुनौती थपिने उनको धारण थियो ।
नवनिर्वाचित सभापति थेवेले प्रतिबद्धता मन्तव्य राख्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउने बताए। कसैलाई भेदभाव नगर्ने र सबैले शिर ठाडो बनाएर हिँड्ने वातावरण निर्माण गर्ने उनले प्रतिबद्धता गरेका छन् ।















