झिलझिले । 

झापाको सतासीधाम सामुदायिक बन उपभोक्ता समुह र अन्तराष्ट्रिय झापाली समाज ईजरायलको संयुक्त लगानीमा सतासीधाममा पिकनिक स्पोर्टमा आरसिसी सभाहल निर्माण हुने भएको छ । शिवसताक्षी नगरको सताक्षीधाम मन्दिर दक्षिण सतासी पिकनिक स्पोर्टमा भवन निर्माण हुने भएको हो ।

सतासीधाममा बनभोज खाएर रमाउने टोलीले सुरक्षित भवनको आवश्यक्ता ठानेपछि सभाहल निर्माण हुने भएको अन्तराष्ट्रिय झापाली समाज इजरायलका पूर्व अध्यक्ष सुवास खरेलले बताए । स्थानियबासिन्दा समेत रहेका सामाजिक संञ्जाल प्रयोगकर्ताले पनि सतासीधाम बनभोज स्थलमा स्थायी भवनको आवश्यक्ता औल्याएपछि अन्तराष्ट्रिय झापाली समाज इजरायलको ध्यानाकर्षण भएको खरेलले बताए । 

खरेलका अनुसार २ वर्ष अघिनै सामुदायिक बन र समाज विच सम्झौता भएको थियो । बन क्षेत्रमा स्थायी संरचना निर्माणमा कानुनि जटिलता देखिएपछि भवन निर्माणको योजना विचैमा रोकिएको थियो । पछिल्लो समय जिल्ला बन कार्यालय इलामबाट सताक्षीधाम दक्षिणको करिव ४ सय मिटर दुरीको बन क्षेत्रलाई पर्यापर्यटनका लागि बन क्षेत्र स्वीकृत गरेपछि स्थायी संरचना निर्माण हुन लागेका हुन् । 

सो क्षेत्रमा सभाहल, शौचालय, खानेपानी, विद्युत, संचार लगायतका लागि पुर्वाधार निर्माण हुने छन् । यसका लागि जिल्ला बन कार्यालय इलामले साढे तीन हेक्टर क्षेत्र पर्यापर्यटनका लागि छुट्याएको सामुदायिक बनका अध्यक्ष हेमबहादुर थापाले बताए । 

समाजले ८ लाख र सतासीधाम सामुदायिक बन उपभोक्ता समुहले ८ लाख गरेर १६ लाखमा भवन निर्माण हुन लागेको छ । २ सय ५० मानिस अटाउन सक्ने हल निर्माण हुने सामुदायिक बनका अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार यो भवन तीन महिनामा निर्माण सम्पन्न हुने छ । 

भवन निर्माण भएपछि बनभोजका लागि सताक्षीधाम आउनेले जस्तोसुकै कार्यक्रम गर्न सक्ने छन् । हावा, हुण्डरी, पानी लगायतका प्राकृतिक प्रकोपमा पनि बनभोज खान आउने सुरक्षित हुने छन् । झिलझिले सताक्षीधाम सडक पनि कालोपत्रे हुन थालेपछि सतासीधाम बनभोज क्षेत्र बनभोज खानेका लागि पूर्वमा आकर्षक गन्तव्य हुने नेपाली कांग्रेसका शिवसताक्षी नगर उपसभापति सन्त फेवदिनले बताए ।

अन्तराष्ट्रिय झापाली समाज इजरायलका पूर्व अध्यक्ष खरेल, सामुदायिक बनका अध्यक्ष थापा र नेपाली कांग्रेस शिवसताक्षीका उपसभापती सन्तकुमार फेवदिनले संयुक्त रुपमा भवनको सोमबार एका कार्यक्रमका विच उद्घाटन गरेको निर्माण उपभोक्ता समितिका सचिव राकेश रिजालले बताएका छन् ।