बिर्तामोड ।
नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेल तालिका सार्वजनिक भएको छ ।आगामी फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो ।
आयोजकका अनुसार उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । हालै सम्पन्न ए डिभिजन लिगमा सातदोबाटो चौथो स्थानमा र जावलाखेल नवौँ स्थानमा रहेका थिए ।
त्यस्तै, दोस्रो खेल फागुन २२ गते नेपाल पुलिस क्लबविरुद्ध संकटा क्लबले खेल्नेछ । लिगमा पुलिस ११ औँ स्थान र संकटा सातौँ स्थामा रहेका टिम हुन् । झापा गोल्ड कपको तेस्रो खेल पहिलो खेलको विजेतासँग एपिएफ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । लिगमा एपिएफ आठौँ स्थानमा रहेको टोली हो ।
चौथो खेल दोस्रो दिनको विजेतासँग थ्री स्टार क्लबले खेल्नेछ । लिगमा थ्री स्टार छैटौँ स्थानमा रहेको थियो । प्रतियागिताअनुसार पाँचौँ खेल त्रिभुवन आर्मी फुटबल क्लबका विरुद्ध भारत दार्जिलिङको एम एफसीले खेल्नेछ । लिगमा आर्मी दोस्रो स्थानको टोली हो ।
झापा गोल्ड कपमा छैटौँ खेल झापा ११ फुटबल क्लबले भारत सिक्किमको आरपी एफसीका विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २७ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ । झापा गोल्ड कपको फाइनल खेल फागुन ३० गते सोमबार हुनेछ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने खेलका लागि करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइनेछ ।















