सुरुङ्गा । 

आगामी बैशाख ३० गते हुने तय भएको स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र कनकाईले आफू सम्बद्ध पत्रकारको आईटी टिम बनाएको छ । 

पार्टीको अगुवा कार्यकर्ता भेलाबाट नेपाल पत्रकार महासंघ प्रदेश सदस्य लीलाराज झापालीको संयोजकत्वमा आइटी टीमको निर्माण गरिएको हो । टिमका सदस्यहरूमा आईपी भट्टराई, सिएम शर्मा, सुष्मा कुमाल र अमृत योङहाङ रहेका छन् । पार्टीका नीति तथा कार्यक्रमको व्यवस्थित प्रचारप्रसार गर्न र पार्टीलाई स्थानीय तहको निर्वाचनमा विजय गराउन सञ्चारक्षेत्रको ठूलो महत्त्व रहने भएकाले सो पत्रकारलाई जिम्मेवारी दिइएको बताइएको छ । 

सो अवसरमा स्थानीय तह निर्वाचन घोेषणापत्र निर्माण समिति पनि गठन गरिएको छ । पार्टीका कनकाई नगर अध्यक्ष यामनाथ सेडाईको संयोजकत्वमा ५ सदस्यीय स्थानीय निर्वाचन घोषणापत्र निर्माण समिति गठन गरेको हो । समितिको सदस्यहरूमा कृष्णप्रसाद घिमिरे, वेदप्रसाद खतिवडा, शान्ता अधिकारी र जनार्दन उप्रेती रहेका छन् । 

नेकपा माओवादी केन्द्र निर्वाचन परिचालन कमिटीकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सुशिला साम्पाङ (वर्षा) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा कनकाई नगर इन्चार्ज गोपाल प्रसाई, पार्टीका जिल्ला सदस्य नम्रता चौहान, शान्ता अधिकारी, पार्टीका नगर अध्यक्ष यामनाथ सेडाई, वाइसीएल कनकाई नगर अध्यक्ष हिमाल बिष्ट, अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष नवीन सिटौला लगायतको आतिथ्य रहेको थियो ।