झापा । 

झापा बिर्तामोडको बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईको आग्रहमा झापा भ्रमणमा आएका दुबईका राजकुमार शेख मोहम्मद मक्तुम जुमा धार्मिक तथा पर्यटकीय स्थल ‘हेप्पी ड्रिम्स चेप्टी नजाने भएका छन् । 

दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार शेख हमदन बिन मोहम्मद बिन रसिद अल मक्तुम नै आएझै तामझामका साथ नेपाल भित्रदै शनिवार झापा आएका उनी सुरक्षाको दृष्टिका कारण इलामको माई नगरपालिकास्थित ‘हेप्पी ड्रिम्स चेप्टी’नजाने बुभिएको छ । 

चेप्टी पार्कका सञ्चालक दिनेश शिवाकोटीले दुबईका राजकुमार पार्क हेर्न आउने भएपछि स्वागतको तयारी गरेका थिए । शनिवार (हिजो) झापा आएका उनी बीएण्डसी अस्पताल भ्रमणपछि हिजै चेप्टी जाने कार्यक्रम रहेको पार्क सञ्चालक शिवाकोटीले बताए । तर, सुरक्षा दृष्टिकोणका कारण आज (आइतवार) अस्पतालको सिटी स्क्यान मेसिन उद्घाटन गरेका छन् भने भोली झापाबाट फर्किने कार्यक्रम तय भएको छ ।  

धार्मिक तथा पर्यटकीय स्थलको रुपमा स्थापना भएको इलामको माई नगरपालिका २ को हेप्पी ड्रिम्स चेप्टी बिवादमा तानिएपछि केही स्थानीयले आक्रोस पोखेका छन् । गाउँ तथा नगरकै विकासको अवधारणासहित दुईबर्ष अघि शुरु भएको पर्यटकीय स्थल चेप्टीका कारण स्थानीयलाई आवश्यक बाटा, बिजुली र रोजगारी मिलेको भन्दै विवादमा परेपछि उनीहरु आक्रोशित भएका  हुन् । पार्कलाई सञ्चालन गर्न नदिदा रोजिरोटी गुम्ने, उक्त स्थानको विकास नहुने, बाटोघाटो र नगरको विकासमा प्रत्यक्ष असर पर्ने उनीहरुले बताएका छन् । 

पार्क स्थापनापछि नगरको विकाससँगै रोजगारी सिर्जना भएको स्थानीयहरुले बताएका छन् । एकदमै दुर्गम, अन्धकार र बिकासको हिसावले पछि परेको चेप्टी पार्क निर्माणसँगै बाटोघाटो र स्थानीयलाई रोजगारीको अवसर खुलेको स्थानीयहरु बताउँछन् । पर्यटकीय स्थल सञ्चालन भएसँगै इलाम, झापा, पाँचथर, लगायतका व्यवसायीहरुले उक्त स्थानमा व्यापार व्यवसायसमेत सञ्चालन गर्दै आएका छन् । त्यसैगरी धार्मिक तथा पर्यटकीय स्थल भएपछि देशका बिभिन्न ठाउँ तथा विदेशबाट समेत पर्यटक आउने जाने क्रम बढेको स्थानीयको भनाई छ । 

२०५६ सालमा पाँचथरबाट आएर चेप्टीमा बस्दै आएका मनकुमार विकले पार्क निर्माण भएको जग्गा प्रेम लिम्बु र खम्बासिंह लिम्बुको भएको बताए । ‘हामीले देख्दा केही थिएन, उनले भने ‘तर, फन पार्क निर्माणसँगै बिजुली, बाटो, र रोजगारी पाएका छौं ।’ स्थानीय बिमला लिम्बुले फन पार्क सञ्चालनसँगै गाउँमा झैझगडा नभएको र रोजगारीसँगै विकासको लहर छाएको बताएकी छिन् । 

पार्क सञ्चालक शिवाकोटीले खरिद गरेको जग्गामा मात्र पार्क निर्माण गरेको दावी गर्दै शिवाकोटीले भने ‘मैले डाँडापाखा सवै मेरो भनेको छैन ।’ जति जमिन मैले खरिद गरेको छु, त्यती जमिनमा मात्र पार्क निर्माण गरेको छु ।’ उनले पार्कबाट भएको आम्दानीको कर सरकारलाई तिरेको बताउँदै ५ प्रतिशत कर नगरलाई पनि बुझाउँदै आएको समेत बताएका छन् । सञ्चालक शिवाकोटीले सामुदायिक बनको सिमाना देखाउँदै भने ‘यो सामुदायिक बनकै क्षेत्र हो, तर, मैले बनको जग्गा अतिक्रमण गरेको भन्दा पनि यसलाई सिगारेको हो ।’ शिवाकोटीले बनमा  करडौंकोे विभिन्न जातको विरुवा रोपेको समेत बताए ।

पार्कमा शुरुमा चार/पाँच सय ब्यक्तिलाई रोजगारी दिएको बताउँदै शिवाकोटीले हाल सामुदायिक बनले जग्गा नाप्ने काम शुरु गरेर प्रोजेक्टको काम बन्द भए पनि फन पार्कमा  ८० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको बताए ।