सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले कृषिका लागि अनुदानमा ९९ वटा मोटर बितरण गरेको छ । नगरका ९ वटै वडाका कृषकलाई सिंचाई सहजताका लागि मंगलबार (आज) बोरिङका लागि मोटर वितरण गरिएको हो । 

कृषिलाई पहिलो प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा बजेट छुट्याएको नगरले प्रत्येक वडामा १० देखि १५ वटासम्म मोटर वितरण गरेको हो । कृषकलाई ५० प्रतिशत अनुदानमा बोरिङका लागि मोटर प्रदान गरेको साझेदारी कृषि तथा पशुपालन उद्यमशीलता विकास परियोजनाका कार्यक्रम संयोजक हरि सिलवालले जानकारी दिए । 

नगर प्रमुख राजेन्द्रकुमार पाखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख आशा शर्मा शिवाकोटी, वडा नं. १ का वडाअध्यक्ष सुशिलकुमार पोखरेल, वडा नं. ८ का वडाअध्यक्ष लीला कटुवाललगायत जनप्रतिनिधिसहित सामुदायिक सहजकर्ता इन्दिरा गिरी, ग्रामिण कृषि तथा पशु स्वास्थ्य उद्यमी छत्रमाया लम्साललगायतको उपस्थिति रहेको थियो । 

कनकाई नगरपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा अभियान नेपालको सहजीकरणमा कृषकलाई मोटर वितरण गरिएको हो । वडा नं. १, २, ३, ६, ७, ८ र ९ लाई १० वटाका दरले मोटर बितरण गरिएको थियो भने वडा नं.४१४ वटा र वडा नं. ५ लाई १५ वटाका दरले वितरण गरिएको जनाइएको छ ।