झापा । 

म्यानपावर ब्यवसायीले बैदेशिक रोजगार बिभाग घेराउ गर्ने भएका छन् । एकसय ४८ वटा म्यानपार कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरेपछि उनीहरुले बिभाग घेराउ गर्ने भएका हुन् । 

 विभागले  तोकिएको  मितिमा  विज्ञापन  प्रकाशित  नगरेको आरोप लगाउँदै एक सय ४८ म्यानपावर कम्पनीलाई ५० हजार रूपैयाँका दरले  जरिवाना गरेको छ । विभागले गत साउन ३ र ४ गतेको मितिमा विभिन्न राष्ट्रिय दैनिकमा प्रकाशन  गर्न  विभागबाट  पूर्व  स्वीकृतिको  अनुमति लिएर विज्ञापन नगरेको विषयमा एक सय ४४ र अनुमति बिना नै विज्ञापन गर्ने ४ गरी एकसय  ४८  म्यानपावर  कम्पनीलाई  जरिवाना गरेको थियो । 

वैदेशिक रोजगार ऐनको दफा ४९ अनुसार ५० हजार रूपैयाँका दरले जरिवाना गरेको निर्देशक डम्बर सुनुवारले जानकारी दिएका छन् । विभागले त्यससम्बन्धी सूचना शुक्रबार नै आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरूले नियतवश नभई प्राविधिक कारणले विज्ञापन प्रकाशित नभएको  भन्दै  एक  पटकलाई  जरिवाना  नगरी सचेतसम्मको कारबाहीको माग गरेपनि विभागले जरिवाना नै गरेकोे विभागमा खटिएका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका समस्या सहजीकरण प्रतिनिधि कर्ण कटुवालले जानकारी दिए । 

गत साउन ३ गते शुक्रबार कार्यालय समय ५  बजेसम्म  पूर्व  स्वीकृतिको  जानकारी  विभागले नदिएको ब्यवसायीले बताए । कतिपय व्यवसायीले साँझ  ७ बजेदेखि राति ९ बजेसम्म  पूर्व  स्वीकृतिको जानकारी पाएका छन् । भोलिपल्ट शनिबार  विज्ञापन  प्रकाशित  गर्न  नपाएका  व्यवसायीले  आइतबार  विज्ञापन  प्रकाशित  गरेर विभागको अनलाइन प्रणालीमा अपलोड गरेको ब्यवसायीहरुको भनाई छ ।

विभागले सानातिनो त्रुटीलाई सच्याउने पर्याप्त ठाउँ भएपनि गम्भीर अपराधी नै सरहको कारबाही गरेकोेले व्यवसायीको  गम्भीर  आक्रोश हुँदै आइतबार विभाग  घेराउको  कार्यक्रम  तय भएको जनाइएको छ ।