झापा । 

प्रारम्भिक  सार्वजनिक  निष्कासन  अर्थात कुनैपनि  कम्पनीको  आईपीओ  निष्कासन  गर्दा  श्रम  स्वीकृति  लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउनुप र्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । 

बजेट घोषणाको करीब ४  महिनापछि  बजेट  बक्तव्यको  उक्त  प्रस्ताव  कार्यान्वयनमा  आउन लागेको भएको हो । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले धितोपत्र दर्ता तथा निष्कासन (छौटौं संशोधन)नियमावली, २०७९ जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई सुविधा दिने व्यवस्था गरेको हो । 

उक्त व्यवस्थाले कामदारको आर्जन पूँजी निर्माणमा आई उनीहरू स्वदेश फर्केपछि लाभ पाउने अपेक्षा गरिएको छ । आईपीओ भर्नका लागि वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट धितोपत्र बोर्डबाट धितोपत्र खरिद र दरखास्त संकलन सम्बन्धी कार्य गर्न रेमिट्यान्स बचत खाता खोल्नुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ । 

हाल सामुहिक लगानी कोष म्युचुअल फण्डहरूले प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात कुनैपनि कम्पनीको आईपीओमा पाँच प्रतिशत शेयर पाउने गरेका छन् । वैदेशिक रोजगारीमा गएका कामदारले तोकिएको आईपीओ नभरेमा छुट्याइएको शेयर सर्वसाधारणका लागि बिक्री गर्न सकिने व्यवस्था नियमावलीमा गरिएको छ । 

 हाल वैदेशिक रोजगारीका लागि खाडी मुलुक तथा मलेसिया गएका अधिकांश कामदारहरूले डिम्याट खाता खोलेका कारणले उनीहरू प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात कम्पनीको आईपीओतर्फ सहजरूपमा आकर्षित हुने आंकलन गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दा कम्तिमा १० प्रतिशत शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउने व्यवस्था गरिने घोषणा गरेका थिए ।