झापा । 

‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका युवाहरुले ठगीएको गुनासो गरेका छन् । युवाहरुले विदेशमा आफूहरुले तलब सुविधा नपाएको र विदेश पठाउँने बहानामा साढे ७ लाखसम्म रुपैयाँ असुलेको गुनासो गरेका हुन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरबाट सञ्चालन भएको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका युवाहरुले श्रम मन्त्री शेरबहादुर कुँवरसँग आफु ठगिएको गुनासो गरेका हुन् ।

प्रतिनिधि र प्रदेशसभा चुनावका कारण स्थगित ‘श्रमिकसँग श्रम मन्त्री’ आइतबारबाट पुनः सञ्चालनमा आएको छ । स्वदेश तथा विदेशबाट १० जना श्रमिकले मन्त्री कुँवरसँग प्रत्यक्ष फोनमा कुरा गर्दै आफ्ना समस्या, गुनासा र सुझाव राखेका थिए । उनीहरुले सबैभन्दा बढी वैदेशिक रोजगारीमा ठगिएका गुनासा र समस्याहरु राखेका छन् । 

 फोनमार्फत मन्त्री कुँवरलाई दुबई, मलेसिया, साउदीलगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासाहरु बढी आएको जनाइएको छ । सुर्खेतबाट फोन गरेर गुनासो राख्दै एक जना श्रमिकले आफूलाई क्यानडा पठाइदिने भन्दै करिब ६ लाख रुपैयाँ ठगेको गुनासो आएको बताइएको छ ।