झापा । 

 वैदेशिक रोजगारका लागि मलेसिया पुगेका नेपाली कामदारहरुलाई तेस्रो मुलुक पठाइदिने भन्दै ठगी भइरहेको खुलेको छ । बैदेशिक रोजगारीका लागि मलेशिया पुगेका नेपाली कामदारलाई युरोप, अमेरिका र क्यानडालगायतका तेस्रो देश पठाइदिने बहानामा ठगी भइरहेको पाइएको हो ।

 मलेसियाबाट नै क्यानडालगायतका देशमा पठाइदिने प्रलोभनमा पारेर रकम असुलेको गुनासो मलेसियास्थित नेपाली दूतावासमा आउने क्रम बढेको बुझिएको छ । 

शुक्रबार दूतावासले फेसबुक लाइभमार्फत सञ्चालन गर्दै आएको साप्ताहिक सूचना तथा जानकारी कार्यक्रममा उपस्थित दूतावासकी प्रथम सचिव यशु बस्नेतले पछिल्ला दिनहरुमा नेपाली कामदारलाई तेस्रो मुलुक पठाइदिने भन्दै रकम असुली गरेर ठगेको उजुरी आइरहेकोले सचेत हुन आग्रह गरेकी छिन् ।  उनले मलेसियाबाट नेपालीहरु तेस्रो मुलुक जान सक्ने भएपनि त्यसको प्रक्रिया स्वदेश फर्केपछि मात्रै गर्नुपर्ने सुझाव दिइन् । 

 मलेसियामा ठगीको धन्दा चलाउँदै आएकाहरुले मौसमी कामदार भिसामा पठाइदिने भन्दै कम्पनीमा काम गरिरहेका नेपालीहरुलाई जागिर छाड्न उक्साउने र जागिर नै छोडाएर अलपत्र पार्ने गरिएको बताइएको छ ।