काँकरभिट्टा ।

 झापा मेचीनगर–१ को तिरिङदेखि सलकपुर सम्मको क्षेत्रलाई ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय जुटेका छन् । वडा नम्बर १ को तिरिङ खोला स्थित देवीथानको चौतारामा भेला भएका स्थानीय समाजसेवीहरुको भेलाले सो क्षेत्रलाई ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै एकजुट भएर लाग्ने प्रतिबद्वता जनाएका हुन् ।

त्री ऋण गंगा दश अवतार दर्शन मोक्षधाम धार्मिक पर्या पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष सञ्जय निरौलाको अध्यक्षता तथा चारआली स्थित पाउ पाथिभरा धामका अध्यक्ष तिलक गिरीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो । भेलामा प्रमुख अतिथि गिरी, मेचीनगर–१ का वडा सदस्य चेतकुमार हुमागाई, कृष्ण थुम्की विकास वोर्डका अध्यक्ष हिम्मत क्षेत्री, समाजसेवीहरु खेमराज पुरी, लीलाप्रसाद न्यौपाने लगायतले पूर्वकै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने धारणा राखेका थिए ।

नेपाल विद्यार्थी संघ झापाका सभापति समेत रहेका सोहि स्थानका समितिका अध्यक्ष निरौलाले महाभारतकालदेखि पौराणिक इतिहास बोकेको यो क्षेत्रलाई देश–विदेशमा ‘मोक्ष धाम’को रुपमा परिचित गराउने योजना रहेको बताए । उनका अनुसार मदन भण्डारी राजमार्ग समेत जोडिएको ठाउँ भएकोले उक्त क्षेत्रको विकासका लागि तिरिङदेखि सलकपुरसम्म दश अवतारका ऐतिहासिक धार्मिकस्थल बनाईने छ ।

‘मोक्षधाम’मा मस्य, बराह, नर्सिंह, वामन, कुर्मु, पर्शुराम, राम, कृष्ण लगायतका दश वटा अवतारहरुको मन्दिर निर्माण गरिने बताइएको छ । सो क्षेत्रमा विशाल कुण्ड, मदन भण्डारी मार्ग छेउमा पर्यटकका लागि ट्रेकिङ रुट, हरेक वर्ष सोह् श्रद्वा, पृति मोक्षदान, हरेक वर्ष मेचीदेखि सलकपुरसम्म दश रथा यात्रा, शनिबारलाई श्रमबारको रुपमा जनश्रमदान गरिने लगायतका कामहरुलाई अघि बढाइने समितिको योजना छ ।

धार्मिक पौराणिक इतिहास बोकेको यस ठाउँमा सतलसेन महाराज, भिमचण्डी आमा, पाण्डव, कृष्ण, सिता बसोबास गरेको महाभारतका पुस्तकहरुमा पनि पढ्न सकिन्छ । तिरिङ खोलाको छेउमा निरौला कुवामा वर्षौँदेखि ढुंगामा नाक(सर्प) चित्र स्पष्ट देखिन्छ । त्यहाँ बेला–बेला नाक आउने गरेका कारण उक्त कुवाबाट पानी झिक्न डराउन थालेको स्थानीय बताउछन् । कहिलै पानी नसुक्ने पोखरी पनि यसैठाउँमा रहेको छ ।

त्यस्तै तिरिङ खोला र छिरिङ खोपको बीचमा देवीथानको रुख रहेको छ । सो रुखलाई आजसम्म आएको ठुलो बाडी र प्रकोपले बगाउन नसकेको स्थानीय बताउछन् । उक्त  क्षेत्रलाई एतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरको गौरवको योजनामा पार्न मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढोथोकीसँग छलफल भइरहेको अध्यक्ष निरौलाले बताए । भेलाको सञ्चालन समितिका महासचिव डिकेन्द्रकुमार थापाले गरेका थिए । भेलामा वडा सदस्य शान्तकुमार न्यौपाने लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।