बिर्तामोड । 

झापाको बिर्तामोडस्थित देवी हाट (वुधवारे हटिया) मा रहेका अब्यवस्थित टहरा बिर्तामोड नगरपालिकाले हटाएको छ । नगरपालिकाले बिर्तामोड ५ मा रहेको देवी हाटमा व्यवस्थित सपिङ महल निर्माणका लागि अब्यवस्थित रुपमा रहेका टहरा हटाएको हो । एक विगाह दुई कठ्ठा क्षेत्रफल रहेको सो क्षेत्रमा टहरा हटाउन बिर्तामोड नगरपालिकाले डोजर प्रयोग गरेको छ ।

त्यहाँ रहेका ब्यवसायीलाई टहरा खाली गर्न पटक–पटक आग्रह गरेपनि उनीहरुले अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गरी टहरा भत्काएर सो क्षेत्र खाली गराएको हो ।  टहरा हटाउन नगरपालिकाले शनिवार अन्तिम पटक माइकिङ गर्दै २४ घण्टे सूचना जारी गरेको थियो । तर, व्यवसायीले अटेर गरेर ठाउँ खाली नगरेपछि सोमवार(आज)  १२ वजेपछि डोजर लगाएर टहरा भत्काएको हो ।

यस अघि बिर्तामोड नगरपालिकामा सर्बदलीय बैठकवसी टहरा हटाउने निर्णय गरेको थियो । सो क्रममा नगरमा रहेका ५४ जना जनप्रतिनिधिले हस्ताक्षर रहेका थिए । नगरपालिकाले डोजर लगाएर टहरा भत्काउन थालेपछि व्यवसायीहरु आ–आफ्नो सामान समाल्न तितरबितर भएका थिए । 

dozar

सोमबार (आज) बाक्लो संख्यामा सशस्त्र, जनपथ र नगर प्रहरीको उपस्थितिमा हटियामा पालिकाले डोजर चलाएको छ । आक्रोशित ब्यापारी केहिबेर बिरोधमा उत्रिएपनि डोजर सामु उनीहरुको केही लागेन । आक्रोशित ब्यापारीले एउटा जेसीबीको सिसा फुटाइदिएका थिए । टहरामा डोजर चलाउन शुरु गरेपछि भने ब्यापारीले आफ्ना सामान निकाल्न शुरु गरेका थिए । आक्रोशित ब्यापारीले नगरपालिका बिरुद्ध नाराबाजीसमेत गरेका थिए ।

सो क्षेत्रमा रहेका करिब दुई सय व्यापारी मध्ये ७० ब्यापारीले मात्र अनुमती लिएर व्यापार गर्दै आएको नगरपालिकाले जनाएको छ । टहरा हटाएर पालिकाले बहुतले कम्प्लेक्स बनाउने योजना बनाएको छ । नगर विकास कोषको ९० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।