हल्दीबारी । 

ग्रामिण क्षेत्रका सञ्चारकर्मीहरूलाई संगठित गर्दै व्यावसायिक पत्रकारिताको विकास, स्थानीय मुद्दाको उजागर तथा सञ्चारकर्मीबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले स्थापित ग्रामिण प्रेस क्लब झापाको प्रथम अधिवेशन आइतबार हल्दिबारीमा सम्पन्न भएको छ।

हल्दीबारी गाउँपालिका–२ स्थित रेडक्रस सामुदायिक भवनमा सम्पन्न अधिवेशनले नेत्रविक्रम विमलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा प्रितम कुमार धमला, महासचिवमा राजेश आचार्य, सचिवमा अभिषेक खतिवडा र कोषाध्यक्षमा शान्ता उप्रेती चयन भएका छन्। त्यस्तै सदस्यहरूमा रत्न कुमार बुढाथोकी, जनकलाल राजवंशी, बुधलाल किस्कु, श्रीप्रसाद शिवाकोटी, हेमन्त मैनाली र टिकाराम बास्तोला चयन भएका छन्।

नयाँ नेतृत्व चयनका लागि अधिवेशनको बन्दसत्रले रेम खरेलको संयोजकत्वमा लिलाराज झापाली र गोपाल पोखरेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। निर्वाचन समितिले सहमति र सहकार्यका आधारमा नयाँ कार्यसमिति सर्वसम्मत घोषणा गरेको हो। यसअघि आयोजित उद्घाटन सत्रमा क्लबका अध्यक्ष नेत्र विक्रम विमलीले संस्थाको वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए। उनले ग्रामिण क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई एउटै संस्थागत छातामुनि संगठित गर्दै पत्रकारिताको व्यावसायिकता, विश्वसनीयता र उत्तरदायित्व अभिवृद्धिमा क्लबले भूमिका निर्वाह गर्ने बताए। उनले स्थानीय तहदेखि ग्रामीण बस्तीका नागरिकका समस्या, विकासका सम्भावना, सामाजिक गतिविधि तथा ओझेलमा परेका सवाललाई प्राथमिकताका साथ सञ्चारमाध्यममा ल्याउने गरी क्लबको आगामी गतिविधि अघि बढाइने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशसभा सदस्य छविलाल चुडालले ग्रामिण क्षेत्रमा रहेका नागरिकका आवाज, स्थानीय समस्या र विकासका सवाललाई राज्य तथा सरोकारवाला निकायसम्म पुर्‍याउन स्थानीय सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए। उनले ग्रामीण पत्रकारितालाई अझ जिम्मेवार, तथ्यपरक र प्रभावकारी बनाउन सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले स्थानीय सरकारका गतिविधि, जनसरोकारका विषय तथा ग्रामीण क्षेत्रका समस्यालाई तथ्यका आधारमा सार्वजनिक बहसमा ल्याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए। उनले क्लबले पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि तथा हकहितका विषयमा समेत रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले ग्रामीण क्षेत्रमा काम गर्ने पत्रकारलाई संगठित गर्दै पत्रकारिताको गुणस्तर र पेशागत मर्यादा कायम गर्न क्लबले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। उनले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र जिम्मेवार बनाउन निरन्तर सिकाइ, क्षमता विकास र आपसी सहकार्य आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा नेपाली मौलिक पहिचान र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले अतिथिहरूलाई ढाका टोपीसहित मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली, वडाध्यक्ष देवी बहादुर थापा, हल्दिबारी–२ का वडा सदस्य रचना कुलुङ राई, झापा उद्योग वाणिज्य संघका महासचिव सुमन मैनाली, हल्दिबारी उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाईं, नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाका सभापति कर्णखर प्रसाईं, युवा व्यवसायीहरू एकराज मगर र असिम मैनाली, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे, बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका संयोजक सरोज पौडेल, नेपाल पत्रकार महासंघ झापाका सदस्य देवेन्द्र प्रसाईं लगायत विभिन्न पत्रकार संगठनका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष प्रितम कुमार धमलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन क्लबका नवनिर्वाचित सचिव अभिषेक खतिवडाले गरेका थिए। नवनिर्वाचित कार्यसमितिले ग्रामीण क्षेत्रका सञ्चारकर्मीबीच आपसी समन्वय र सहकार्य विस्तार गर्दै स्थानीय मुद्दाको खोजमूलक र तथ्यपरक उठान, पत्रकारहरूको पेशागत क्षमता विकास, सञ्चारकर्मीको हकहित तथा ग्रामीण पत्रकारिताको संस्थागत विकासलाई प्राथमिकतामा राखेर आगामी कार्ययोजना अघि बढाउने जनाएको छ।