झापा । 

वैदेशिक रोजगार विभागले नयाँ म्यानपावर कम्पनीको इजाजतपत्र रोकेको छ । हाल विभागमा नयाँ म्यानपावर कम्पनी दर्ताका लागि वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक रोजगार नियमावली २०६४ ले इजाजतपत्रका लागि तोकेका विवरण र कार्ययोजनासहित निवेदन पर्ने गरेका छन् ।

त्यस्ता निवेदन दर्ता गरेर राख्ने, तर नयाँ इजाजत जारी गर्न भने रोकिएको विभागका निर्देशक तथा सूचना अधिकारी गुरूदत्त सुवेदीले जानकारी दिए । वैदेशिक रोजगार ऐन र नियमावलीमा म्यानपावर इजाजतपत्र नवीकरण गर्न अनिवार्यरूपमा वार्षिक एक सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन श्रम स्वीकृति लिएको हुनुपर्ने व्यवस्था छ ।

तर, जेठको पहिलो हप्ता लाइसेन्स लिने व्यवसायीले असार मसान्तसम्ममा सय जना कामदार पठाउने सम्भावना नदेखिएकाले नयाँ लाइसेन्स रोकिएको बिभागले जनाएको छ । 

विभागले निवर्तमान महानिर्देशक उमाकान्त अर्याल सरूवा हुनुभन्दा एक–दुई दिनअघिबाट नै नयाँ लाइसेन्स रोकेको बताइएको छ । विगतमा मन्त्रिपरिषद्को निर्णयले इजाजतपत्र रोकिँदा व्यवसायीले अदालतबाट आदेश जारी गराएर इजाजतपत्र लिने गरेका थिए ।

 विभागले नयाँ दर्ता स्थगित गरेको भएपनि शेयर खरिद बिक्री, नामसारी तथा ठाउँसारी पूर्ववत् रुपमा खुला रहेको बताएको छ । हाल विभागबाट इजाजतपत्र लिएका ८ सय ८० म्यानपावर कम्पनी रहेका छन् । तर  खारेजी, स्वेच्छिक खारेजी र एकआपसमा गाभिने प्रक्रिया ‘मर्ज’ हुने गरेका कारण म्यानपावर कम्पनीको संख्या घटबढ भइरहने विभागले जनाएको छ ।