बिर्तामोड ।

बिर्तामोड क्षेत्रमा गैर नेपाली चालकहरु प्रवेश गरी अटो सञ्चालन गरेपछि त्यसको बिरोधमा नेपाली चालकहरु आन्दोलित भएका छन् ।

बिर्तामोड क्षेत्रमा मात्र २ सय ५० भन्दा बढी भारतीय मुलका अटो चालकहरु रहेको भन्दै नेपाली ब्यवसायीले तत्काल नियन्त्रण गर्न सरोकारवाला निकायसँग माग गरेका छन् । बिहीबार बिर्तामोड नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै तत्काल नियन्त्रण नगरे नेपाली चालकले आफै नियन्त्रण गर्ने चेतावनी दिएका छन् । 

पुर्वेली मजदुर यातायात प्रालीको अगुवाईमा सयौं अटो चालकहरुले बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा अबैध अटो सञ्चालन गरेको भन्दै नियन्त्रणको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । भारतीय चालकहरुले यात्रुसँग जथाभावी भाडा असुल्ने, लागु औषधको संगठित कारोबार गर्ने, यात्रुको मालसामान चोरी गर्ने दुर्घटना गराई फरार हुने सम्मका गतिविधि बढेको भन्दै नियन्त्रणको माग गरेको पुर्वेली यातायात मजदुर प्रालीका अध्यक्ष हरी प्रसाद बाँस्कोटाले बताए । 

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले यसै आर्थिक बर्षदेखि कानुन निर्माण गरी अटो रिक्सालाई दर्ता गर्ने प्रकृया अघि बढाउने आश्वासन दिइन् । उनले गैर कानुनी तवरले चलाई रहेका अटो रिक्साहरुलाई तत्काल नियन्त्रणमा लिने प्रतिबद्धता जनाइकी छन् । 

संघले बिहीबार नै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा यस बिषयमा ध्यानाकर्षण गराएको छ । नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराईको नेतृत्वमा पुगेको टोलीले ट्राफिक प्रहरीलाई यस बिषयमा सक्रियता बढाउन आग्रह गरेको थियो । बिहीबार सम्ममा अवैध सञ्चालनमा रहेका १० वटा अटो रिक्सालाई नियन्त्रणमा लिएको असई याम खड्काले जानकारी दिए । आगामी दिनमा प्रभावकारी ढंगले यसलाई नियमन गर्न ट्राफिक प्रहरी परिचालन हुने उनले बताए ।